आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
प्रकाशित मिति
२०८३ श्रावण १ गते, शुक्रबार ०१:०९
१ साउन २०८३ काठमाडौं – डेंगु रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु गरेको छ। साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत डेंगु नियन्त्रण र रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।

अभियानअन्तर्गत स्थानीय तहको नेतृत्वमा वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी डेंगु फैलाउने लामखुट्टेको नियन्त्रणका गतिविधि सञ्चालन गरिनेछ।

सरकारले प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यस क्रममा सार्वजनिक कार्यालय, विद्यालय तथा सामुदायिक क्षेत्रमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजी गरी नष्ट गरिनेछ।
स्थानीय तहलाई समुदायको सहभागितामा हरेक हप्ता कम्तीमा एक दिन ‘लामखुट्टेको प्रजनन स्थल खोज तथा नष्ट अभियान’ सञ्चालन गर्न आग्रह गरिएको छ। साथै, अटो वर्कसप, ग्यारेज, कवाडी सामान राख्ने स्थान र निर्माणाधीन भवनजस्ता पानी जम्ने सम्भावित क्षेत्रको नियमित अनुगमन गरी पानी व्यवस्थापन गर्न निर्देशन दिइएको छ।




प्रतिकृया