शिवरात्रि सुरक्षा : एसपीको कमाण्ड, ३५ सय प्रहरी परिचालन
प्रकाशित मिति
२०८१ फाल्गुन १३ गते, मंगलवार ०१:१५
फाल्गुण १३, २०८१ काठमाडौँ: शिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो ।
शिवरात्रिमा आउने भक्तजन तथा दर्शनार्थीहरूको घुँइचो हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर सुरक्षा योजना बनाएर लागू गरिएको रानिपोखरीका एआईजी टेकबहादुर तामाङले बताए । उनका अनुसार एसपीको कमाण्डमा ३५ सय बढी प्रहरी परिचालन गरिने छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर मातहत खटिएका सुरक्षाकर्मी मन्दिर दर्शनका लागि आउने दर्शनार्थीको सुरक्षामा खटिनेछन् भने ट्राफिक प्रहरीमातहत खटिएका सुरक्षाकर्मी यातायातका साधन व्यवस्थापनमा केन्द्रित हुनेछन् । ‘महाशिवरात्रिको सुरक्षाको सबै प्रबन्ध पूरा भएको छ । परिसरमातहत सुरक्षामा मात्रै ३५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएका छन् । दर्शनार्थीलाई ढुक्कसँग मन्दिरको दर्शन गर्ने प्रबन्ध गरिएको छ । सुरक्षा व्यवस्था चुस्त पारिएको छ,’ एआईजी तामाङले भने, ‘यातायात व्यवस्थापनका लागि ट्राफिकबाट अलग्गै जनशक्ति परिचालन गरिएको छ ।’

प्रहरीका अनुसार पर्वभर बर्दीसहितका र सादा पोसाकका सुरक्षाकर्मी तीन सिफ्टमा परिचालन गरिएका छन् । त्यसबाहेक ‘स्ट्राइकिङ’ र ‘मोबाइल’ टोलीले पनि सुरक्षा दिनेछ । यस प्रयोजनमा मात्रै ७४ प्रहरी खटिएका छन् । त्यस्तै, सम्भावित दुर्घटना रोक्न प्रहरीलाई ‘रिजर्भ’मा पनि राखिएको छ । यस प्रयोजनमा १३५ सुरक्षाकर्मी ‘स्ट्यान्ड बाई’ राखिएको छ । त्यस्तै, सुरक्षा प्रबन्ध चुस्त तुल्याउन ड्रोन र सिसिक्यामेराबाट पनि भिडको निगरानी हुने र यस प्रयोजनमा ६ जनाको विशेष फोटोग्राफर टोली परिचालन गरिएको एआईजी तामाङले बताए ।
शिवरात्रिको मौकामा लाइनमा बस्नेहरूमा धकेला धकेल हुने तथा महिलाहरूमाथि दुव्र्यवहार समेत हुनसक्ने भन्दै सुरक्षा सतर्कतासमेत अपनाइएको छ । त्यसका लागि पशुपति क्षेत्रमा सीसीटीभी जडान समेत गरिएको छ । यसका साथै प्रहरीले पनि आफ्नै फोटो ग्राफरहरू खटाएर घटनास्थलको मनिटरिङ गर्ने भएको छ ।
त्यस्ता गतिविधि हुन लागेमा भिडिओ, फोटो लिने र त्यसबाट व्यक्ति पहिचान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।




प्रतिकृया