• 6:43 pm

झोलुंगे पुलमा अराजक गतिविधि गर्ने आशिका तामाङ बिरुद्ध प्रहरीमा उजुरी

प्रकाशित मिति

२०८१ आश्विन ९ गते, बुधबार ०७:२०

भक्तपुर । सुर्यविनायक नगरपालिकाले नगरपालिकाको ९ र १० नं वडाको सिमानामा रहेको झोलुंगे पुलमा अराजक गतिविधि गर्ने महिलालाई कानुन अनुसार कारवाही गर्नुपर्ने माग गरेको छ । झोलुंगेपुल चढेबापत पैसा लिन नपाइने भन्दै ’टिकट प्याड’ आगजनी गरेको र त्यहाँको अस्थायी संरचना समेत तोडफोड गरेको आरोपमा सुर्यविनायक नगरपालिकाले आफूलाई “अभियन्ता“ भन्दै आएकी आशिका तामाङ विरुद्ध प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।

तामाङले सोमबार आफू सहित ६–७ जना लगेर अस्थायी संरचना तोडफोड गरेको र त्यहाँ रहेका कर्मचारीलाई धम्की समेत दिएको आरोप नगरपालिकाले पत्रकार सम्मेलन गरी लगाएको छ । चक्कु, कैंची, पेन्चिस, घन लगायतका घरायसी हतियार समेत लगेर उनीहरुले “अब पछी यहाँ कसैले प्रवेश शुल्क लिन नपाउने“ भन्दै तामाङले टिकट प्याड खोसेर आगो लगाएको भिडियो सामाजिक सञ्जालमा समेत राखेकी थिइन् ।


त्यस क्रममा पुलमा राखिएको संकेत चिन्ह र अस्थायी संरचना समेत तोडफोड गरेको भन्दै नगरपालिकाका तर्फबाट कानुन शाखाका प्रमुख कपिल बहादुर अधिकारीले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाटनै साँगाको पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरेको थियो । स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क थियो । त्यसैगरी सुर्यविनायक नगरपालिकावासीलाई भने ५० प्रतिशत छुट दिइएको नगरको भनाई छ । नगरपालिकाले आन्तरिक आम्दानीका लागि ठेक्का लगाएर त्यहाँबाट शुल्क लिने गरेको थियो । प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको नगर प्रमुख बासुदेव थापाले बताउनुभयो ।

प्रमुख बासुदेव थापाले उक्त पुल पर्यटन प्रबद्र्धनका लागि बनाइएकाले पुलमा शुल्क लिनु अवाञ्छित नभएको दाबी गर्नुभयो। ‘पुलमात्र त्यहाँ पुग्ने बाटो हैन । पुरानो बाटो अर्कै छ । त्यो झोलुङ्गे पुल पर्यटन प्रबद्र्धनकै लागि बनाइएको हो । पुलमा टिकटक बनाउने, फिल्म सुटिङ गर्ने आदि गतिविधि हुन्छन् ।’, उहाँले भन्नुभयो ।


‘त्यहाँबाट थोरै मात्र पैसा संकलन गर्ने गरिएको छ । त्यो रकम पनि व्यक्तिगत प्रयोजनका लागि नभएर नगरपालिकाको आन्तरिक आम्दानीका लागि हो । त्यही पैसाबाट त्यहाँका संरचनाहरुको मर्मत सम्भार गर्ने गरेका छौं ’उहाँले भन्नुभयो ।
उहाँले केही व्यक्तिहरूले वास्तविकता नबुझी त्यहाँ उच्छृंखल गतिविधी गरेकाले उनीहरुलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पनि वास्तविकता नबुझेर अराजकता फैलाउनेलाई कारबाही हुनुपर्ने बताउनुभयो। “गुण्डागर्दी शैलीमा मान्छे ल्याएर बार बिगार्ने, टिकट प्याड आगो लगाउने जस्ता अराजक गतिविधि भएको उहाले बताउनुभयो ।
सापकोटाले उनीहरुविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।


सुर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले पनि आफूहरुले कानुनसम्मत नै रकम लिएको दाबी गर्नुभयो । ‘संघिय सरकारले नै बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिए अनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौं । पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ , उहाँले भन्नुभयो ।

नगरपालिकाको आर्थिक ऐनमा नै उक्त पुलबाट रकम संकलन गर्ने व्यवस्था गरिएको उहाँको भनाई छ । पुलको सञ्चालनको लागि नीजी क्षेत्रलाई ३९ लाख रुपैयाँमा ठेक्का समेत लगाइएको तर आर्थिक ऐनले निर्धारण गरेको २० रुपैयाँ शुल्क भन्दा बढी उठाएको भेटिए कारबाही गरिने समेत उहाँको भनाइ छ ।

प्रतिकृया