आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालको सहज जीत
प्रकाशित मिति
२०८० चैत्र १३ गते, मंगलवार ०४:३३
चैत्र १३, २०८० काठमाडौँ: आयरल्याण्ड वल्भ्सविरुद्धको २ खेलको टी–२० सिरिज नेपालले क्लिनस्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले आयरल्याण्ड वल्भ्सलाई ७१ रनले पराजित गरेको हो ।
१९९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको आयरल्याण्ड वल्भ्स १८।३ ओभरमा १२७ रन बनाएर अलआउट भयो । आयरल्याण्डका लागि स्टिफन डोहेनीले २६ र मोर्गन टपिङले २१ रन बनाए । नेपालका लागि भने सोमपाल कामीले ३, कुशल मल्लले ३ तथा कुशल भूर्तेल र करण केसीले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो । नेपालका लागि गुल्शन झाले ४६, कुशल मल्लले ३४ र रोहितकुमार पौडेलले ३३ रन बनाए । विस्फोटक ब्याटिङ गरेका गुल्शनले ३२ बलमा ४६ र कुशलले १३ बलमा ३४ रन बनाएका हुन् ।
५६ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै गुल्शन र रोहितले चौथो विकेटका लागि ७ ओभरमा ७१ रनको साझेदारी गरे । कुशल भुर्तेल २५, सन्दीप जोरा २१ र आशिफ शेख ११ रनमा आउट भए । म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले दुई विकेट लिए ।
मुख्य प्रशिक्षक मोन्टी देशाईंले दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई आराम दिँदै आजको खेलमा अनिल शाह र विशाल यादवलाई मौका दिएकाथिए। यद्यपि अनिल १२ रनमा आउट भए । विशालले नटआउट ७ रन बनाए ।
सिरिजको पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।






प्रतिकृया