असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति
२०८३ आश्विन ७ गते, बुधबार ०४:१४
७ असोज २०८३ काठमाडौं — वायुसेवा सञ्चालक संघले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्रै उडान सञ्चालन गर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।
संघका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनीसहित अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले हवाई यातायातमा समेत असर पर्न सक्ने जनाइएको छ।
हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले थप सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमको अवस्था र जोखिमलाई ध्यान दिई सुरक्षित अवस्थामा मात्रै उडान सञ्चालन गर्न संघले सदस्य वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको हो।
बाढी, पहिरो वा भूक्षयको जोखिम उत्पन्न भए तत्काल उद्धारमा परिचालन हुन सक्ने गरी ‘स्ट्यान्डबाई’ अवस्थामा रहन तथा मौसमसम्बन्धी सूचना नेपाल मौसम विज्ञान विभागबाट नियमित लिन पनि संघले आग्रह गरेको छ।






प्रतिकृया