तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
प्रकाशित मिति
२०८३ आश्विन ७ गते, बुधबार ०५:०४
७ असोज २०८३ काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा पर्न सक्ने अवरोधलाई ध्यान दिई सावधानी अपनाउन आग्रह गरेका हुन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
प्रधानमन्त्री शाहले रातिको समयमा राजमार्गमा यात्रा नगर्न, बाढी तथा पहिरोको जोखिम भएका क्षेत्र र नदी–खोलानजिक विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकालाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले अनुरोध गरेका छन्।






प्रतिकृया