स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश
प्रकाशित मिति
२०८० पुष ६ गते, शुक्रबार ०४:०७
पुस ६, २०८० काठमाडौँ: स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोरखेलको इजलासले शुक्रबार बसौलाको पक्षमा अन्तरिम आदेश जारी दिएको हो ।
अदालतको यो आदेशपछि बसैलालाई निलम्बन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय तत्काललाई कार्यान्वयन नहुने भएको छ । बसौलालाई मन्त्रिपरिषद्को गत असोज २४ गते बसेको बैठकले तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसबेला स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार उनलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो ।

बसौलाले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गते तीन दिनको म्यादसहित ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।

बसौला निलम्बित भएसँगै सञ्चालक समितिका ५ जना सदस्यले पनि पदबाट राजीनामा दिएका थिए ।
अन्तरिम आदेश पछि डा. बसौलाले न्याय मिलेको बताए। ‘अदालतले न्याय दिएको छ । जिम्मेवारी पूरा गर्ने अवसर पाएँ’, भने ।




प्रतिकृया