तीन दलका प्रभावशाली नेताहरुको एकै स्वर : ‘सरकारले राम्रो काम गरेको छ, आफ्नो समयावधिसम्मै टिक्छ’
प्रकाशित मिति
२०८० भाद्र १२ गते, मंगलवार १०:४९
भदौ १२, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आवद्ध रहेका तीनवटा दलका प्रभावशाली नेताहरुले सरकारमा कुनै समस्या नरहेको बताएका छन् । आज (सोमाबार) रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अध्यक्षतामा आयोजित विशेष साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेका नेता दीपक खड्का, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व न्यायाधिवक्ता मुक्ति प्रधान र जनता समाजवादी पार्टी (जसपा) का नेता मनिश सुमनले सरकार सही गतिमा अगाडि बढिरहेको र गठबन्धन दलका बीचमा कुनै समस्या नरहेको बताएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का नेता मनिश सुमनले सरकारले गौर काण्डका बारेमा गरेको सहमतिको बुँदा नम्बर १ सँग पार्टीले आपत्ति जनाएको बताए । ‘गौर काण्डका बारेमा सरकारले गरेको सम्झौतालाई हामीले गम्भीरताका साथ लियौं । किनकी बुँदा नम्बर १ विवादास्पद थियो ।’ उनले भने, ‘पूर्वाग्रही जाहेरीलाई आधार मानेर १७ वर्षपछि निर्दोषलाई फसाउने उद्देश्यका साथ त्यो सम्झौताको बुँदा १ थियो भनेर हामीले प्रधानमन्त्रीजीलाई भेटेर असन्तुष्टि व्यक्त गरेकै हो ।’
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलको सरकारले देशमा समृद्धि सुशासन र सामाजिक न्याय चाहेको बताए । प्रतिगनको खतराको विरुद्धमा गठबन्धन सरकार बनेको उनको भनाई छ । ‘अहिलेको प्रतिगमनको खतराको विरुद्धमा गठबन्धनको सरकार छ । यो गठबन्धनको सरकार सम्पूर्ण लोकतन्त्रवादीहरु जो यो देशको समृद्धि चाहन्छन्, यो देशमा सुशासन चाहन्छन्, सामाजिक न्याय चाहन्छ ।’ उनले भने, ‘देशलाई नयाँ ठाउँमा लानका लागि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत, समानुपातिक, समावेशी धर्म निरपेक्षतालाई संस्थागत गर्ने र नेपाली जनताको भविष्य सुनिश्चित गर्न वर्तमान सरकार दत्तचित्त छ ।’
उनले वर्तमान सरकार विभिन्न भ्रष्टाचारविरुद्धमा उभिएको बताए । अहिलेको सरकार लोकतान्त्रिक सरकार भएकाले आफ्नो उद्देश्यलाई आत्मसाथ गरेर जाने उनको भनाई छ । वर्तमान सरकारसँग कानुको शासन चाहनेहरु कोही पनि आत्तिन नहुने उनले बताए ।
नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक खड्काले गठबन्धन सरकार आफ्नो समयावधिसम्म चल्ने दाबी गरे । कांग्रेसले स्थायित्वलाई बल पुर्याउने काम गर्ने र सरकारले तलमाथि गरको खण्डमा सचेत गराउँदै अगाडि बढ्ने उनको भनाई छ ।
‘यो सरकार आफ्नो समयावधिसम्म चल्छ । यसमा कुनै फरक पर्दैन । कांग्रेसले स्थायित्वलाई बल पुर्याउने काम गर्छ । मुलुकमा अस्थिरता भयो । यो राजनीतिक परिवर्तन भयो ।’ उनले भने, ‘स्थायित्व नभएको कारण सुशासन कायम हुनसकेन । आर्थिक प्रगतिको बाटो सुस्त देखियो भन्ने कांग्रेसको प्रष्ट धारण हो ।’
निर्वाचनको समयमा कांग्रेसले सरकार पाँच वर्ष चलाउने, संविधाको कार्यान्वयन र समृद्धिका लागि भोट भन्दै भोट मागेको स्मरण गर्दै उनले उक्त मर्मबाट पार्टी बाहिर नजाने बताए । ‘हामीले जनतासँग भोट माग्दैगर्दा हामी यो सरकार पाँच वर्ष चलाउँछौं, संविधाको कार्यान्वयन र समृद्धिका लागि भोट मागेका हौं । त्यो मर्मभन्दा बाहिर कांग्रेस छैन,’– उनले भने ।
प्रतिकृया