• 6:01 am

बाबुआमाले गरेको त्याग तपस्याको बलमा नवयुवराजहरुको नाच निन्दनीय छ : सभापति लामिछाने

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ०५:३२

भदौ ६, २०८० काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले बाबु पुस्ताले राजनीतिक परिवर्तनका लागि गरेको त्यागमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाबु पुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुको नाच निन्दनीय रहेको उनले बताए ।


‘बाबुआमाले गोलीसँग नडराएर ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप आएको छ हामीले देख्दै आएका छौं’, लामिछानेले भने, ‘नवयुवराज भन्नुपर्ने हुन्छ किनकी यो परिवर्तनमा बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानको जगमा छोराछोरी पुस्ताले गरेको यो नाच सर्वत्र देखिएको छ, यो निन्दनीय छ ।’


माओवादी केन्द्रका कतिपय नेताका छोराछोरी विभिन्न अनियमितता प्रकरणमा मुछिएकोतर्फ लक्षित गर्दै लामिछानेले ‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको बताए । ‘यो अनुसन्धान नवयुवराजहरुतिर आयो भने फेरि सरकारले भनेको सुशमसन बालुवाटार जग्गा प्रकरणमा जस्तो, भुटानी शरणार्थी प्रकरणमा जस्तो सुन तस्करी प्रकरणमा जस्तो अड्किने त होइन ? एक ठाउँमा पुगेपछि अर्को कहिँ संकेत हुन थालेपछि अड्किने त होइन ?,’ उनको प्रश्न छ ।


यस्तै उनले आफ्ना ढोकासम्म नआइपुग्दासम्म मात्र सरकारले सुशासनको कुरा गरेको हो भन्दै प्रश्न गरे । ‘सरकारले सुशासनको कुरा ग¥यो । हामीले शंकाको सुविधा दियौं । सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ? आफ्ना ढोकासम्म नआइपुग्दासम्म सुशासनको कुरा गरेको हो कि ? साच्चिकै सुशासनको कुराकानी गरेका हो ?,’ उनको प्रश्न छ ।

भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले आशंका व्यक्त गरे । ‘भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरी अधिकारीको सरुवा बढुवा भयो । सुशासनको यो प्रमाण प्राप्त छैन र सरकारलाई शंका गर्नका निम्त ?,’ उनले भने ।


ललिता निवास प्रकरणमा निर्णायकर्तालाई सुनपानी छर्किए जसरी चोख्याइएको लामिछानेको आरोप छ । ‘ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा गएर कागज सबै हेरेका, पैसा दिएर किनेका मानिस र कर्मचारीहरु जहाजको सिटबाट समातेर थुनिए । निर्णायकर्ताहरुलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यही हो र ?,’ उनको प्रश्न छ ।


सुन प्रकरणमा सत्तारुढ दलका नेताको नाम आउँदा सरकार सुस्ताएको लामिछानेले बताए । ‘के सरकारले दिन खोजेको सुशासन यही हो ? न हामी सुशासनको अपेक्षा गरेर बसेका छौं । विगतमा बनेका छानबिन समितिले के गरे समाजसामु प्रष्ट छ । तर हामी शंकाको लाभ दिन तयार छौं । राज्यका निकायलाई निकम्मा बनाएका छौं । गौडा गौडामा आफ्ना मान्छेलाई भर्ती गरेर बसेका छौं ,’ उनले भने ।


६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङ लामाको फोनको ल्याव परिक्षण गरी संसदमा देखाउनुपर्ने उनको भनाइ छ ।

प्रतिकृया