सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
प्रकाशित मिति
२०८३ भाद्र २२ गते, सोमबार १०:३८
चितवन । पृथ्वी राजमार्गको कृष्णभीरलगायत विभिन्न स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट काठमाडौं हुने हवाई उडानको संख्या दोब्बरभन्दा बढी पुर्याइएको छ।

भरतपुरबाट काठमाडौंका लागि हाल बुद्ध एयरले मात्रै उडान सञ्चालन गर्दै आएको छ। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेपछि उडान संख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्याइएको छ।
भरतपुर–काठमाडौं रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। जहाजको क्षमता ७२ जना भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने जनाइएको छ। काठमाडौंबाट भरतपुर आउँदा ६५ देखि ७० जना र भरतपुरबाट काठमाडौं जाँदा करिब ५० जना यात्रु बोक्ने गरिएको छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ। तर वर्षायाममा सडक यात्रा असहज भएपछि यात्रुले हवाई यात्रालाई प्राथमिकता दिन थालेका छन्।
भरतपुर विमानस्थलमा चितवनसँगै नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्। यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै उडान संख्या बढाएर यात्रुलाई सहजीकरण गरिएको एयरलाइन्सले जनाएको छ।



प्रतिकृया