• 5:32 pm

प्रतिनिधिसभा बैठक सञ्चालनमा एमालेले अवरोध गर्ने भए पछि सुरु हुन सकेन

प्रकाशित मिति

२०८० जेष्ठ २१ गते, आईतवार १२:२५

२१ जेठ २०८०, काठमाडौँ : नेकपा एमालेले हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । एमालेको अडानका कारण आइतबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।


अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको विधेयक अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएकोले सो प्रमाणीकरण गरेको विधेयक रद्द नगरेसम्म संसद् अवरुद्ध गर्ने एमालेको प्रस्ट धारणा रहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । राष्ट्रपति पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । दुवै सदनले दुईपटक पारित गरेर पठाएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन् । मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह सहितको पत्र राष्ट्रपतिलाई १२ जेठमा लेखेको थियो ।


संसद् बैठक बस्नुअघि यसबारेमा एमालेको तर्फबाट सभामुख देवराज घिमिरेलाई यसबारे जानकारी गराइसकिएको र सो विधेयक रद्द नहुन्जेल एमालेले संसद्को कामकारबाही अघि बढाउन नदिने सचेतक बर्तौंलाले बताए ।

प्रतिकृया