• 3:05 pm

मैत्रिपूर्ण खेलमा बेल्जियमद्वारा जर्मनी पराजित

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार १०:४१

१५ चैत्र २०७९, काठमाडौँ: २०२४ को युरो च्याम्पियन्सिपको आयोजक जर्मनीलाई पराजित गर्दै बेल्जियमले नयाँ प्रशिक्षक डोमेनिको टेडेसको नेतृत्वमा लगातार दोस्रो खेलमा जित निकालेको हो । मंगलबार भएको मैत्रिपूर्ण खेलमा बेल्जियमले ३-२ को रोमाञ्चक जित निकाल्न सफल भयो। जर्मनीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका लागि यानिक क्यारास्को, रोमेलु लुकाकु र केभिन डी ब्रुइनाले गोल गरेका थिए। जर्मनीका लागि निक्लास फुलक्रग र सर्ज गनाब्रीले एक-एक गोल गरे ।


बेल्जियमले ९ मिनेट भित्र २ गोल गर्दै घरेलु टोलीमाथि रवाफिलो सुरुवात गरेको थियो। छैटौं मिनेटमा क्यारास्कोले गोल गर्दा नवौँ मिनेटमा रोमेलु लुकाकुले अग्रता दोब्बर बनाएका थिए । तर खेलको ४४ औं मिनेटमा निक्लास फुलक्रगले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा जर्मनीलाई २-१ को स्थितिमा ल्याएका थिए ।


दोस्रो हाफमा जर्मनीले गोल गर्ने केही राम्रा मौका गुमायो। खेलको ७८ औं मिनेटमा डी ब्रुइनाले गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रा दिलाए । खेलको अन्त्यतिर गनाब्रीले गोल गरेपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् ।


यसअघि शुक्रबार युरो २०२४ को छनोट खेलमा लुकाकुले ह्याट्रिक गरेपछि स्वीडेनमाथि ३-० को सहज जित निकालेको थियो । बेल्जियमको यो चार दिनमा दोस्रो जित हो। बेल्जियमले सन् १९५४ पछि पहिलो पटक जर्मनीमाथि जित निकालेको हो ।


कतारमा भएको विश्वकपबाट बाहिरिएपछिको पहिलो अन्तर्राष्ट्रिय खेलमा शनिबार पेरुलाई २-० ले हराएको जर्मनलेले घरेलु मैदानमा बेल्जियमसँग हार व्यहोरेको हो ।

प्रतिकृया