• 12:52 am

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार १०:४६

चैत १५, २०७९, काठमाडौँ : बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न १० दलका शीर्ष नेताबीच छलफल भएको हो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत छन्।


नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए।


मंगलबार साँझ पनि बालुवाटारमा गठबन्धन बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश गरेका थिए। न्यूनतम साझा कार्यक्रमको मस्यौदामा समावेश गरिएका विषयबस्तु अध्ययन गरी थपघट गर्न आज बैठक बसेको हो। साथै मन्त्रालय भागबन्डाबारे पनि दलहरू सहमतिमा पुग्न छलफल गर्ने तयारीमा छन्।


कसले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भएको छ। दलहरूले आफूहरूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरिसकेका छन्। यो प्रस्तावमा दलहरूले आ-आफ्नो दाबी राखेका थिए। यसबारे आज थप छलफल गरी सहमतिमा पुग्ने दलहरूले बताएका छन्।प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्।

प्रतिकृया