नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०५:१५

८ मंसिर २०७९, काठमाडौँ : आज (बिहीबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको छ । नेप्से ०.६० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ ।


कूल २३२ वटा कम्पनीको २५ लाख ६९ हजार २ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ९२ करोड ५१ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको सेयर बढेको छ । नन लाइफ इन्स्योरेन्स उपसमूहको सेयर मात्रै घटेको हो ।


बिहीबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ७ करोड ६२ लाख ४८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको हिजो मंसिर ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरी बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।


आज घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ६.८३ प्रतिशतले बढेर २ सय १९ रूपैयाँ पुगेको छ । यस दिन किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य २.८९ प्रतिशतले घटेर ७ सय ८५ रूपैयाँ १० पैसामा झरेको छ ।

प्रतिकृया