• १२ असोज २०८३, सोमबार
  • ६ः४६ बिहान

आइसिसी टी-२० विश्वकपमा भारतले हरायो पाकिस्तानलाई

प्रकाशित मिति

२०७९ कार्तिक ७ गते, सोमबार ०८:१०

७ कात्तिक २०७९, काठमाडौँ : आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह-२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम ‍ओभरमा पाकिस्तानका मोहमद नवाजले नो-बलसहित २ बल वाइड फ्याँकेपछि भारतले पाकिस्तानमाथि ४ विकेटको जित हात पारेको हो। भारतले पाकिस्तानले दिएको १६० रनको लक्ष्य अन्तिम बलमा ६ विकेट गुमाएर पार गर्‍यो। भारतलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो। जसमा पहिलो बलमा नवाजले हार्दिक पाण्ड्यलाई आउट गरे। त्यसपछि दिनेश कार्तिक मैदान आए। भारतले दोस्रो बलमा १ रन र तेस्रो बलमा २ रन लियो।

National Life

चौथो बलमा नवाजले नो बल गर्दा विराट कोहलीले छक्का हिर्काएका थिए। लगत्तै उनले वाइड फ्याँके। त्यसपछि तीन रन दिएको भारतका दिनेश पाँचौ बलमा आउट भए। लगत्तै नवाजले वाइड फ्याँकेपछि अन्तिम बलमा भारतलाई एक रन चाहिएको थियो। जसमा रविचन्द्रन आस्विनले सहज रुपमा रन लिँदै भारतलाई ४ विकेटको जित दिलाए। भारतको जितमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरे। उनले सुस्त सुरुवात गरे पनि पछिल्ला ओभरमा रनको वर्षा गरेका थिए। कोहलीले नटआउट ८२ रन जोड्ने क्रममा ५३ बलमा ६ चौका ४ छक्का हिर्काए।


त्यसअघि हार्दिक पाण्ड्याले ४० रन जोडे। दुईबीच पाँचौ विकेटका लागि शतकीय साझेदारी भयो। खराब सुरुवात गरेको भारतका केएल राहुल र कप्तान रोहित शर्मा ४-४ रनमा आउट भएका थिए। यस्तै सूर्यकुमार यादव १५ रन र अक्षर पटेल २ रनमै आउट भएका थिए। बलिङमा पाकिस्तानका हरिस रउफ र नवाजले २-२ विकेट लिए। त्यसअघि मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १५९ रन जोड्यो।

Classic Tech Mobile
Classic Tech Desktop

पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक प्रहार गरे। इफ्तिखरले ५१ रन जोड्ने क्रममा ३४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै शान मसूदले नटआउट ५२ रन जोडे। उनले ४२ बलमा ५ चौका हिर्काए। त्यसअघि ओपनद्वय मोहमद रिजवान र कप्तान बाबर अजाम सस्तैमा आउट भए। रिजवान ४ रन र बाबर शून्यमा आउट भए। दुवैलाई अर्शदीप सिंहले आउट गरेका थिए। यी दुई ओपनर जोडी ४ रनको साझेदारीमा आउट हुँदै खराब रेकर्ड बनाए। दुई जनाबीच भएको यो सबैभन्दा कम रनको साझेदारी हो। यसअघि यसै महिना दुई जनाबीच इंग्ल्यान्डबिरुद्ध ५ रनको साझेदारी भएको थियो।


पाकिस्तानका शादब खान ५ रन, हैदर अली २ रन, मोहमद नवाज ९ रन र आसिफ अली २ रनमै आउट भएका थिए। शादब, हैदर र नवाजलाई भारतका हार्दिक पाण्ड्याले आउट गरेका थिए। ८ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन जोडेका शाहीन साह अफ्रिदी अन्तिम ओभरको दोस्रो बलमा आउट भए। बलिङमा भारतका अर्शदीप र हार्दिक पाण्ड्याले ३-३ विकेट लिए। भुवनेश्वर कुमार र मोहमद सामीले १-१ विकेट लिन सफल भए।

प्रतिकृया