बार्सिलोनाले रियलबाट फिर्ता गर्ला ला लिगा उपाधि ?
प्रकाशित मिति
२०७९ श्रावण २७ गते, शुक्रबार ०६:२६
२७ साउन २०७९, काठमाडौं : गत सिजन सजिलै लिग उपाधि जितेको रियल मड्रिड त्यसलाई रक्षा गर्ने अभियानमा छ । तर टिम बलियो बनाउँदै आएको बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियलको अभियान रोक्न चाहेको छ । गत सिजन रियलले १३ अंकको फरकमा उपाधि जितेको थियो । सन् २००८ पछि पहिलो पटक ला लिगा उपाधि रक्षा गर्ने अपेक्षासहित रियल मड्रिडले नयाँ सिजन सुरु गर्दैछ ।
कार्रो एन्सेलोट्टीले चेल्सीका सेन्टर ब्याक एन्टोनी रुडिगर र मोनाकोबाट अउरेलियन चुवामेनी भित्र्याएर टिमलाई बलियो बनाएका छन् । नयाँ आएका खेलाडीहरुसँगै एडुअर्डो कामाभिंगा, फेड भलभेर्डे र रोड्रिगोले यस सिजन धेरै खेल समय पाउनुपर्नेछ । कतार विश्वकपका कारण बीचमा क्लब फुटबल रोकिने भएकाले टिममा रोटेसन गर्नुपर्ने हुन्छ ।
करिम बेन्जिमा रियलको मुख्य खेलाडीको रुपमा छन् । किलियन एमबाप्पेलाई भित्र्याउने चाहना अधुरो भएपछि बेन्जिमा रियलको एक्लो सेन्टर फरवार्डको रुपमा छन् । लुका जोभिक फियोरेन्टिना पुगे भने एन्सेलोट्टीले मारियानो डियाजमा खासै विश्वास गर्दैनन् । डिसेम्बरमा ३५ वर्ष लाग्ने बेन्जिमामाथि गोल गर्नका लागि धेरै भर पर्ने स्थिति रहेकाले रियलको उपाधि होडमा प्रश्न उठाएको छ ।
यद्यपी त्यहाँ केही सम्भावित एक्स(फ्याक्टर छन् । चेल्सीबाट आएदेखि एडेन हाजार्ड सबैभन्दा ठूलो निराशा बनेका छन् । बारम्बारको चोटले गर्दा तीन सिजनमा उनले जम्मा ६ गोल मात्र गरेका छन् । तर अहिले हाजार्ड फिट छन् । प्रि सिजनमा उनले खेलेका छन् । एन्सेलोट्टीले बेल्जियन हाजार्डलाई फल्स नाइनमा खेलाउने योजना बनाएका छन् । चेल्सीमा जस्तै यदी उनी गोल गर्ने सुपर स्टार बन्न सके यसले रियललाई कमजोर देखिएको क्षेत्रमा ठुलो राहत हुनेछ ।
बार्सिलोनाको ठूलो खर्चले दिलाउला सफलता ?
बार्सिलोनाले यो समर ट्रान्सफर विण्डोमा सनसनी मचाएको छ । क्लब अध्यक्ष जोन लापोर्टाले खेलाडी किन्नका लागि क्लबको व्यावसायिक सम्पत्तिको एक हिस्सा बेचेर एक विशाल जुवा खेलेका छन् । यस समरमा जुल्स काउन्डे, एन्ड्रेस क्रिस्टेनसेन, फ्रान्क केस्सी, राफिन्हा र रोबर्ट लेवान्डोस्कीको आगमन भयो । त्यसमा मार्कोस अलोन्सो र बर्नार्डो सिल्भा पनि थपिने सम्भावना छ । उस्मान डेम्बेलेको सम्झौता नवीकरण भइसकेको छ ।
जसले गर्दा प्रशिक्षक जाभीले राखेका हरेक पोजिसनमा दुई स्तरीय खेलाडीको अनुरोध पूरा भएको छ । उनले वास्तविक रूपमा अपेक्षा गरेको भन्दा धेरै खेलाडी पाएका छन् । तर शनिवार हुने रायो भालेकानोको खेलअघि यी खेलाडीहरु ला लिगामा दर्ता हुन बाँकी छन् । ला लिगाको कडा वित्तीय नियमहरूको पालना गर्न आवश्यक रहेकोले बार्सिलोना अहिले गम्भीर आर्थिक समस्याहरूसँग लडिरहेका छ ।
यी समस्याहरू समाधान हुनेमा उनीहरू विश्वस्त छन् र अब प्रशिक्षकलाई राम्रो गर्न दबाब छ । बार्सिलोनाले तुरुन्तै ठूलो सफलता पाइहाल्नका लागि आधारभुत रुपबाटै सुरु गर्नुपर्नेछ । तर हालका लागि धेरै हदसम्म एउटा प्रश्न अनुत्तरित छ, जाभी कत्तिको राम्रो प्रशिक्षक हुन् ? जाभीको नेतृत्वमा गत सिजनमा बार्सिलोनाले आफ्ना २६ लिग खेलबाट ५६ अंक जोडेको थियो । । बर्नाबेउमा रियलमाथि ४-० को जितसहित बार्सिलोनाले फेब्रुअरी र अप्रिलको बीचमा लगातार सात खेल जितेको थियो ।
तर त्यहाँ केही खराब प्रदर्शन पनि थिए । काडिज र रायो भालेकानोसँग घरेलु मैदानमै पराजित भयो । यस्तै युरोपा लिगमा ईनट्राक्ट फ्रान्कफर्टसँग पराजित हुँदै बाहिरियो । जाभीको तत्कालको जिम्मेवारी त्यही अनिश्चिततलाई हटाउनु हो । क्लबका पूर्व कप्तान जाभीका लागि पक्कै स्रोतको कमी छैन । र प्रमाण पनि छ कि उनले अहिलेसम्म तिनीहरूलाई प्रयोग गर्न हिचकिचाएका छैनन् ।
जाभीकोले प्राय ४-३-३ को संरचनामा खेलाउने गरे पनि कहिलेकाहीं उनी तीन जना डिफेण्डर पनि खेलाउने गर्छन् । लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाटी, फेरान टोरेस र पियरे(इमरिक औबामेयाङ जस्ता बहुमुखी प्रतिभा भएका खेलाडीले धेरै स्थानमा खेल्न सक्छन् । यो आफैंमा अतुलनीय छ । यो टोलीले निश्चित रूपमा धेरै गोलहरू गर्नुपर्छ, तर के तिनीहरूले अर्को छेउमा विपक्षीको गोल रोक्न सक्छन् ?
छिटो काउन्टर अट्याक गर्नेहरु विरुद्ध बार्सिलोना पछिल्ला वर्षहरुमा कमजोर देखिएको छ । तर जाभीले काउन्डे र रोनाल्ड अराउजोको गतिले आफ्नो टोलीलाई पिचमा माथि बढेर खेल्न सक्ने र अरुलाई खाली ठाउँ नदिने आशा राखेका छन् ।
जाओ फेलिक्सले एट्लेटिकोलाई प्रेरित गर्न सक्ला ?
ला लिगा दुई घोडाको रेसमात्र नहुन सक्छ, किनकी एट्लेटिको मड्रिडलाई पनि उपाधि दाबेदारबाट हटाउन मिल्दैन । डिएगो सिमिओनीको टिम गत सिजन उपाधि रक्षाका लागि प्रयास गरे पनि सफल भएन । पछिल्ला खेलमा राम्रो गर्दै शीर्ष चारमा अटाउन सफल भएको थियो । तर आगामी सिजनका लागि एट्लेटिकोमा उत्साहजनक संकेत देखिएका छन् । उडिनेसीबाट प्रभावशाली नाहुएल मोलिनाको आगमनले राइट ब्याकमा काएरन ट्रिपियरको अभावलाई पूरा गर्नेछ ।
अनुभवी बेल्जियम अन्तर्राष्ट्रिय एक्सेल विट्सेलले मैदानको केन्द्रमा अधिकार जमाउने छन् । एट्लेटिको प्रि(सिजनमा फ्रि-स्कोरिङ फर्ममा देखिएको छ । गत साता एट्लेटिकोले युभेन्ट्सलाई ४-० ले पराजित गरेको थियो । फेलिक्सले विशेष गरी आँखा तान्ने खालको प्रदर्शन गरेका छन् । जसले सुझाव दिन्छ कि प्रतिभाशाली पोर्चुगल फरवार्ड अन्ततः आफ्नो निस्सन्देह प्रतिभालाई पूरा गर्न तयार देखिन्छन् । यदि फेलिक्स लय कायम राखे, सिइयोनीले रक्षात्मक दृढतालाई पुनस् बलियो बनाउन सक्छन् । जुन उनको १० वर्षे प्रशिक्षण दौरान अधिकांश समय लागु भएको थियो । यसबाट एट्लेटिको अझ अगाढि बढ्न सक्छ ।
– बीबीसीबाट भावानुवाद
प्रतिकृया