यो सिजन लिभरपुलले क्वाडरुपल जित्ला ? भर्जिल भान डाइक यसो भन्छन्
प्रकाशित मिति
२०७९ बैशाख ५ गते, सोमबार ०७:०२
५ बैशाख २०७९, काठमाडौँ : लिभरपुलले फेब्रुअरीमा काराबाओ कप जित्यो । आगामी एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगमा पनि लिभरपुलको दाबेदारी कायम नै रहेको छ । यसकारण लिभरपुलले यो सिजन चारैवटा उपाधि जितेर क्वाडरुपलको सपना साकार पार्ने पो हो की भन्ने धेरैको चासो छ । शनिबार भएको खेलमा लिभरपुलले चीर प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई पराजित गरेसँगै एफए कपको फाइनलमा स्थान पक्का गरेको हो ।
‘कसैले पनि क्वाडरुपल जित्न सकेका छैनन् र यसको एउटा कारण छ – किनकी करिब यो असम्भवजस्तै छ ।’, टोलीका सेन्टर ब्याक खेलाडी भर्जिल भान डाइकले अभिव्यक्ति दिएका छन् । प्रिमियर लिगको अंक तालिकामा म्यानचेष्टर सिटी ७४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । लिभरपुल ७३ अंकसहित दोस्रो स्थानमा छ ।
लिभरपुलले प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । साथै उपाधि दौडमा लिभरपुलले एभर्टन र टोटनह्यामसँग पनि भिड्नु पर्नेछ । यता, युएफा च्याम्पियन्स लिगको अन्तिम ४ खेलमा भने लिभरपुलले भियारियलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
‘सिजनमा चार उपाधि जितेर क्वाडरुपल वा तीन उपाधि जितेर ट्रेबल गर्नु अपवाद बराबर नै हो । यसले हामीमाथि थप दबाब सृजना गरेको छ ।’ डाइकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका अनुसार सबैको लक्ष्य सहभागी भएको हरेक खेलमा जित निकाल्ने नै हुन्छ तर नतिजा के हुन्छ त्यो भने हेर्न बाँकी नै छ । –बीबीसीबाट
प्रतिकृया