• 1:54 pm

पेट्रोलियम पदार्थको मूल्यवृद्धि असर-उपत्यकामा ६ महिनामा दोस्रो पटक बढ्यो गाडी भाडा

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार १२:४५

२६ चैत्र २०७८, काठमाडौँ : नेपालमा पछिल्लो ६ महिनामा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको छ । विश्वव्यापीरूपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो ।


पेट्रोलको मूल्यवृद्धिसँगै भाडादर समेत बढाउनुपर्ने भन्दै व्यवसायीहरूले माग राख्दै आएका थिए । यातायात व्यवसायीको मागलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाउने क्रममा उपत्यकामा पनि बढाएको जनाइएको छ ।


विश्व बजारमा कोरोना महामारी र रुस–युक्रेन युद्धको असर कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पर्दा सार्वजनिक यातायातको भाडादर ६ महिनामै दोस्रो पटक बढेको छ।


यसअघि, बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर काठमाडौं उपत्यकाको भाडादर वृद्धि गरेको थियो । सरकारले विसं. २०७५ सालयता यो वर्षको कात्तिकसम्म सार्वजनिक यातायातको भाडा बढाएको थिएन । जुन, यही वर्षको ६ महिने अवधिमै दोस्रो पटक बढेको हो ।


तेलसम्बन्धी जानकारी दिने वेभसाइट क्र्यूडआएल डटकमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा रुस–युक्रेनको युद्ध असरले कच्चा तेलको मूल्य प्रति ब्यारेल १०२ अमेरिकी डलर छ । यस्तै, नेपाली बजारमा पेट्रोलको मूल्य १६० रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर रहेको छ ।

प्रतिकृया