भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक कारबाही, ५ सय रुपैयाँ जरिबाना
प्रकाशित मिति
२०८३ श्रावण ८ गते, शुक्रबार ०१:०६
८ साउन २०८३ काठमाडौं- गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ। गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुनुपर्ने आवाज उठेको थियो।

त्यसपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा उनीमाथि कारबाही गर्दै ५ सय रुपैयाँ जरिबाना गरेको हो।घटनापछि सांसद गुप्ताले फेसबुकमार्फत क्षमायाचना गर्दै बाल्यकालका सम्झनामा रमाउँदा मजाककै क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आफूबाट जानी वा नजानी भएको त्रुटिका लागि क्षमा मागेका छन्।

सांसद गुप्तामाथिको कारबाहीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले कानुन सबैका लागि समान रूपमा लागू भएको भन्दै स्वागत गरेका छन् भने केहीले ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन्।
यसअघि पनि हेलमेट नलगाई मोटरसाइकल चलाएको अभियोगमा सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह तथा ट्राफिक नियम उल्लंघनका घटनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) पनि ट्राफिक कारबाहीमा परेका थिए।




प्रतिकृया