• ८ साउन २०८३, शुक्रबार
  • १०:३१ बिहान

नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही: २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

प्रकाशित मिति

२०८३ श्रावण ८ गते, शुक्रबार ०९:०५

८ साउन २०८३ काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ भन्दा बढी वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ। सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका बेटिङ प्लेटफर्ममाथि निरन्तर निगरानी र कारबाही अघि बढाएको हो।

प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप सुरु भएयता नयाँ–नयाँ नाममा सञ्चालनमा आएका २ लाख २३ हजार ५६८ वेबसाइट तथा एप ब्लक गरिएको छ। विश्वकपको समयमा अनलाइन बेटिङको जोखिम बढ्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो दिएपछि कारबाहीलाई तीव्र बनाइएको हो।

Kamana Sewa

यसका लागि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरेको छ। टास्क फोर्समा रहेका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएदेखि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिलाई प्राधिकरणमै राखेर बेटिङ वेबसाइटका यूआरएल तत्काल ब्लक गर्ने व्यवस्था गरिएको थियो।

Classic Tech Desktop

उनका अनुसार अवैधानिक वेबसाइटहरू एक–एक गरेर पहिचान गर्न कठिन हुने भएकाले सम्बन्धित निकायबाट प्राप्त विवरण र ‘थ्रेट इन्टेलिजेन्स टुल’ को प्रयोगमार्फत नयाँ वेबसाइटको खोजी (हन्टिङ) गरी आईएसपीसँगको सहकार्यमा निरन्तर बन्द गरिँदै आएको छ।

प्राधिकरणले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट खुल्ने चुनौती कायम रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको जनाएको छ। साथै, सर्वसाधारणलाई अनलाइन बेटिङ वा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपबारे जानकारी भए प्राधिकरणको आधिकारिक GitHub पृष्ठमार्फत सूचना उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

प्रतिकृया