भक्तपुरको भङ्गेरीडाँडामा रग्बीको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिँदै
प्रकाशित मिति
२०७८ चैत्र २३ गते, बुधबार ११:३५
२३ चैत २०७८, काठमाडौंः चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको छ। झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रंगशाला निर्माण गर्न लागिएको हो।
गुरुयोजनाअनूसार रंगशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए।
रंगशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो। हाल जग्गा सम्याउने काम भइरहेको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको जानकारी दिए ।
चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रंगशालाको डिपिआर सम्पन्न भएको छ। नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ। हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ।
खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले बताए।







प्रतिकृया