• १५ असोज २०८३, बिहीबार
  • १ः३४ राती

यूएईसँग ४८ रनले पराजित नेपाल

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०६:०५

४ चैत्र २०७८, काठमाडौँ : आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा युएईले नेपाललाई पराजित गरेको छ। दुबईमा भएको खेलमा घरेलु टिमले नेपाललाई ४८ रनले पराजित गर्‍यो। युएईले दिएको १६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो।

National Life

नेपालका ओपनरद्वय कुशल भुर्तेल ११ रन र आसिफ शेख ७ रनमा आउट भए। लगत्तै दीपेन्द्रसिंह ऐरी ४ रनमा रनआउट भए। ज्ञानेन्द्र मल्लले २८ रन जोड्दा रोहितकुमार पौडेलले ४६ रन बनाए। रोहितले ६० बलमा ४ चौका प्रहार गरे। आरिफ शेख ०, सोमपाल कामी ६ रन, कमलसिंह ऐरी ० र कप्तान सन्दीप लामिछाने ७ रनमा आउट भए। करण केसी पनि अन्तिम विकेटको रुपमा ६ रनमा बोल्ड भए।


बलिङमा युएईका बासिल हमीदले ४ विकेट र जुनइद सिद्धिकीले ३ विकेट लिए। त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६।३ ओभरमा १६८ रनमा अलआउट भयो। युएईका लागि सिपी रिजवान र रोहान मुस्ताफाले ४०-४० रन जोडे। ओपनरद्वय मोहमद वासीम २१ रन र चिराग सुरी ६ रनमा आउट भए। लगत्तै बृत्य अरिवन्द ३ रनमा आउट भए। युएईका सुरुवाती तीनै ब्याट्सम्यानलाई सोमपाल कामीले आउट गरेका थिए। उनले तीनै जनालाई १० ओभरभित्र आउट गर्दा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो।

Classic Tech Mobile
Classic Tech Desktop

एघारौं ओभरमा आसिफ खानलाई करण केसीले २ रनमा आउट गरेका थिए। त्यसपछि दबाबमा परेको युएईका लागि रिजवान र मुस्ताफाले इनिङ्ग्स सम्हालेका थिए। दुवैले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। युएईका बासिल हामीदलाई सागर ढकालले आउट भए। एकदिवसीय खेलमा पहिलो विकेट लिएका सागरले बासीदलाई ज्ञानेन्द्र मल्लबाट क्याच गराए।


यस्तै कसिफ दाउद १८ रन र कप्तान अहमेद राजा १३ रनमा आउट भए। बलिङमा नेपालका सोमपाल कामीले ४ विकेट लिए। उनले ९ ओभरमा ३९ रन खर्चिए। यस्तै करण केसीले ३ विकेट लिन सफल भए। करणले कसिलो बलिङ गर्ने क्रममा ७।३ ओभरमा १६ रन मात्र दिए। कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिए।


घरेलु टिम युएई, नेपाल र पपुवा न्युगिनीबीचको यो त्रिकोणात्मक सिरिजमा युएई र नेपालले विजयी सुरूवात गरेका थिए। दुवैले पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको पपुवा न्युगिनीलाई पराजित गरेका थिए। लिग(२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १६ खेलबाट २० अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।


चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले १० खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १४ खेल खेल्दा अंक जोड्न सकेको छैन।


त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह( नेपाल २ विकेटले विजयी
नेपाल भर्सेस युएई – चैत ४-दुबई – नेपाल ४८ रनले पराजित
नेपाल भर्सेस युएई – चैत ७ -दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ – दुबई‍

प्रतिकृया