काँग्रेसले सर्त माने एमालेले सघाउने
प्रकाशित मिति
२०७८ फाल्गुन १२ गते, बिहीबार ०८:२३
१२ फागुन २०७८, काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटक-पटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसिसीलाई लिएर पटकपटक वार्ता भएको छ। एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ। काँग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ। ‘हाम्रा माग सम्बोधनका विषयमा काँग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ,’ एमालेका एक उच्च नेताले भने ।
ती नेताका अनुसार माओवादी केन्द्रले धोका दिएकै कारण काँग्रेसले एमालेको साथ खोजेको र एमालेले पनि विश्वसनीय आधार बनाउन सांसदहरूको हस्ताक्षर खोजेको हो । काँग्रेसका एक नेताका अनुसार सांसदको हस्ताक्षर पनि तयारी अवस्थामा भएकाले एमालेको माग सम्बोधन हुने सम्भावना बढेर गएको छ। सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे संसद् मा दुईतिहाइ पुर्याउन आफूले सहयोग गर्ने आश्वासन एमालेले प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा समाचार छ ।






प्रतिकृया