• २२ भदौ २०८३, सोमबार
  • १२ः५६ दिउँसो

सर्लाहीमा यात्रुबाहक बस पल्टिँदा १६ जना घाइते

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०६:२१

४ माघ २०७८, काठमाडौँ : सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। मंगलबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ नोचास्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

National Life

बस दुर्घटनामा १६ जना घाइते भएकोमा एकजनाको थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। त्यस्तै बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। बस दुर्घटनामा महोत्तरीको बर्दिबास–२ बुद्धचोककी ३६ वर्षीया विमला सेन्चुरीको टाउको र शरीरमा चोट लागेको र थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।


त्यस्तै सुनसरी भन्टाबारी नगरपालिका–९ का ४० वर्षीय अरुण महतो, सर्लाहीको लालबन्दी–९ की ३७ वर्षीया सुधा खड्का, उनका छोरा ४ वर्षीय कृष खड्का, हरिपुर–२ चिताइनका ६५ वर्षीय रामपुजन कुमर र उनकी श्रीमती ६५ वर्षीया रमनी कुमर, रौतहटको चन्द्रपुर–८ की २५ वर्षीया निल कुमारी राम, लालबन्दी–११ की ६० वर्षीया सिलादेवी ठाकुर घाइते भएका छन्।

Classic Tech Desktop

त्यस्तै रौतहट राजपुर–२ का ४० वर्षीय राजदेव भगत, उनका छोरा ११ वर्षीय रन्जन कुमार चौरसिया, महोत्तरीको बर्दिबास–११ की १९ वर्षीया पुष्पा गौतम, सर्लाहीको बाग्मती–१० की १३ वर्षीया अस्मिता आचार्य, हरिपुर–५ की ४८ वर्षीया ठगनीदेवी चौधरी, वडा नंं। ८ की ७० वर्षीया असिया देवी चौधरी, रौतहटको गुजरा–३ का २४ वर्षीय सयफुरलाई देवान र लालबन्दी–९ का ३७ वर्षीय सुदिप खड्का घाइते भएका छन्।


घाइतेमध्ये ९ जनाको अवस्था मध्यम र ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाइतेहरुको उपचार नमुना अस्पताल हरिवनमा भइरहेको प्रहरीले जनाएका छन्।

प्रतिकृया