कांग्रेस १४औं महाधिवेशनः २९ वटा मतपत्र, २ सय ९३ बुथ
प्रकाशित मिति
२०७८ मंसिर २१ गते, मंगलवार ०६:१८
मंसिर २१, २०७८, काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरू हुँदै छ.
‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऊँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो । पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।

कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्वाचन समितिले पदाधिकारीबाहेकका सदस्यको निर्वाचनका लागि विद्युतीय भोेटिङ मेसिन प्रयोग गर्न सकिने’मा समेत पार्टी नेतृत्वसँग प्रस्ताव गरेको छ । तर, सोमा कुनै निर्णय भने भइसकेको छैन । ‘कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा छ, पदाधिकारीबाहेक सदस्यको निर्वाचनका हकमा डिजिटल भोटिङ मेसिनको प्रस्ताव पनि निर्वाचन समितिबाट आएको छ, सो’दयगतमा पदाधिकारी बैठकले निर्णय गर्छ,’ प्रवक्ता शर्माले भने ।

तर, कागजी मतदान हुने अवस्थामा भने एक मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नेगरी तयारी गरिएको छ । कांग्रेसले मतदानका लागि तीन स्थानसमेत तय गरेको छ । प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । यी विभिन्न स्थानमा भूगोलका आधारमा मतदानको व्यवस्था मिलाइनेछ ।
यसैगरी, मतदानका लागि अहिलेसम्म २ सय ९३ वटा बुथ राख्ने तयारी भइरहेको छ । यस्तै, मतपत्रमा मत हालिसकेपछि सो मतपत्र खसाल्नका लागि १ हजारवटा बक्स राख्नेगरी तयारी गरिएको प्रवक्ता शर्माले जानकारी दिएका हुन् ।
कांग्रेसको नेतृत्व चुन्ने प्रक्रियामा एक मतदातालाई मतदान गर्न कागजी प्रक्रियामा जाँदा औसतमा ४५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ । कांग्रेस महाधिवेशनमा ७७ जिल्ला तथा विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट गरी करिब ४६ सयको संख्यामा महाधिवेशन प्रतिनिधि मतदानको प्रक्रियामा सहभागी हुने अनुमान छ ।
कांग्रेस महाधिवेशन २४ मंसिर १ बजे भृकुटीमण्डपमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् ।
कांग्रेसले महाधिवेशनको प्रचारप्रसारका लागि सडकका विभिन्न भागमा डिजिटल बोर्ड तथा होडिङबोर्ड राख्ने तयारी गरेको छ भने सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गर्ने तयारी गरेको छ । राजधानी दैनिक बाट




प्रतिकृया