महिला टी–२० विश्वकप : नेपालको लगातार दोस्रो जित
प्रकाशित मिति
२०७८ मंसिर ९ गते, बिहीबार ०४:५१
९ मंसिर २०७८, काठमाडौँ : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ । कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि मारिया जस्वीले एक विकेट लिइन्। यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन जोडेको थियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान ३र३ विकेट लिइन्।
यता, करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले १र१ विकेट लिइन्। यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो। यता, कुवेत अघिल्ला दुवै खेलमा पराजित भएको थियो। नेपालले अब शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्








प्रतिकृया