धादिङ भैरवी मन्दिर आन्तरिक पर्यटनको आकर्षण गन्तव्य बन्दै (फोटो फिचर)
प्रकाशित मिति
२०७८ आश्विन १२ गते, मंगलवार ०५:००
१२ असोज, २०७८ धादिङ : धादिङ बजारबाट करिब १८ किलोमिटरको दुरीमा रहेको भैरवी मन्दिर क्षेत्र आन्तरिक धार्मिक पर्यटनको आकर्षण केन्द्र बन्दै गईरहेको छ । प्रचार प्रसारको अभावका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको संख्या सोचेको जस्तो नभएको स्थानियहरुको भनाई रहेको छ ।
समुन्द्र सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । यहाँबाट उत्तरतर्फ मनमोहक हिमालहरू लाङटाङ, गणेश, मानापाथी, घोडाघोडी लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
एकातिर धार्मिक महत्त्व र अर्कोतिर यहाँबाट मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले यसले दुवैखाले पर्यटकको गन्तव्यस्थल बन्ने सम्भावना बोकेको देखिन्छ । भूकम्पले भत्किएर जीर्ण बनेको यो मन्दिर तीव्र रुपमा निर्माण कार्य भईरहेको छ । दसैँ, माघे संक्रान्ति र राम नवमीका अवसरमा सो मन्दिरमा निकै भिड लाग्ने स्थानियहरुको भनाई रहेको छ ।
साविकको सुनौलो बजार गाविस र हाल नीलकण्ठ नगरपालिका–६ मा रहेको यो मन्दिर धादिङ बजारबाट पूर्वतर्फ पर्दछ । ५ किलोमिटर पक्की र १३ किलोमिटर कच्ची सडकको पहुँच रहेको यो मन्दिर जान धादिङ बजारबाट साना सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएको छ ।
ओझेलमा परेको पुरानो धादिङ बजारलाई जीवन्त दिन यस्ता धार्मिक र प्राकृतिक महत्वका स्थानलाई प्रवर्द्धन गर्ने र आवश्यक प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटकको आकर्षण बढ्ने स्थानीयवासी बताउँछन् ।
प्रतिकृया