जब मेस्सीले बार्सिलोना छाड्नुपर्ने खबर पाए….
प्रकाशित मिति
२०७८ श्रावण २८ गते, बिहीबार ०५:५३
२८ साउन, २०७८ काठमाडौँ : बार्सिलोना छाड्नुअघि आयोजित पत्रकार सम्मेलनमा फुटबल स्टार लिओनल मेस्सीले आँशु रोक्न सकेनन् । उजी निकै भावुक देखिएका थिए । बार्सिलोनामा बस्न तयार भए पनि त्यो सम्भव नभएको उनको गुनासो थियो । हुन पनि उनी क्लबसँग नयाँ सम्झौता गर्ने गरी कोपा अमेरिका जितेर बार्सिलोना फर्किएका थिए ।
तर जब उनका एजेन्ट समेत रहेका बुबा जोर्जे मेस्सीले बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टालाई भेटे, सम्झौता नहुने थाहा पाए । बुबा घरमा आएपछि मेस्सीले त्यो खबर थाहा पाए । उनले सबभन्दा पहिला पत्नी एन्टोनेलालाई सुनाए । ‘त्यसपछि हामीहरु खुब रोयौं किनकि हामी निकै दुःखी थियौं,’ बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् ।
त्यसपछि छोराहरुलाई बार्सिलोना छाड्नुपर्ने भयो भनेर कसरी सुनाउने भनेर उनीहरुले कुरा गरेका थिए । मेस्सीले भने, ‘डिसेम्बरमा हामीले उनीहरुलाई बार्सिलोनामै बस्छौं भनेर भनेका थियौं । त्यसैले त्यो समाचारले विशेषगरी थिएगोलाई ठूलो धक्का पर्न सक्थ्यो ।’ उनीहरुले सोचेजस्तो भने भएन । बार्सिलोना छाड्नुपर्ने समाचारले उनीहरुलाई धेरै दुःखी बनाएन ।
यद्यपि थिएगोले मनभित्र पीडा लुकाएको हुनसक्ने मेस्सीको अनुमान छ । भन्छन्, ‘म उसलाई राम्रोसँग बुझ्छु । ऊ पनि मजस्तै छ । उसले मनमनै कुरा लुकाइरहेको हुन्छ । तर यो गम्भीर अवस्था भने होइन । उसले बिस्तारै स्वीकार गर्छ । यो उसका लागि राम्रो अनुभव हो ।’ पेरिस आउँदा भने आफू बेचैन भएको मेस्सीको भनाइ छ । बार्सिलोनाले आफू क्लबमा रहन नसक्ने बताएसँगै केही दिनदेखि अनिदो रहेका मेस्सीलाई पेरिस आउँदा अब के होला भन्ने चिन्ता थियो ।
मेस्सी भन्छन्, ‘हामीले त्यतिबेलासम्म कुनै निर्णय गरेका थिएनौं । यो समयमा हामी कहाँ जाने रु के गर्ने रु हरेक परिवार सर्दा धेरै उथलपुथलको सामना गर्नुपर्छ । तर, मैले मानिसहरुसँग कुरा गर्न थालें । वार्ता निकै छिटो भयो र सबै कुरा ठिकठाक अघि बढ्यो ।’ वार्ता सफल भएसँगै अब आगामी दिनमा कस्तो अवस्थाको सामना गर्नुपर्ने हो र के परिवर्तन ल्याउनुपर्ने हो भन्ने कुराको मात्र चिन्ता बाँकी भएको मेस्सी बताउँछन् ।
उनी थप्छन्, ‘मेरो लागि र मेरो परिवारको लागि नयाँ परिवर्तनले के असर पार्छ भन्ने सोच्नुपर्ने थियो । यो पक्कै पनि नयाँ युग हो र नयाँ अनुभव हो ।’ आफ्नो परिवारका सबै सदस्य खुशी रहेको मेस्सीले सुनाए ।






प्रतिकृया