• १२ असोज २०८३, सोमबार
  • ५ः१४ बेलुका

बढ्न थाल्यो कोरोना सङ्क्रमण

प्रकाशित मिति

२०७८ असार २३ गते, बुधबार ०१:३४

काठमाडौँ : चितवन जिल्लामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १ हजार १४ जनामा झरेको सङ्क्रमितको सङ्ख्या बढ्दै गएर १ हजार २ सय ७१ जना पुगेको हो। स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

National Life

त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७ सय नाघेको थियो । जेठ १० गते चार हजार ७ सय १३ पुगेको थियो । असार लागेसँगै घट्दै गएको सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५ सय ४८ जना रहेका सङ्क्रमितको सङ्ख्या घट्दै गएर असार १३ गते १ हजार १४ जनामा झरेको थियो ।


जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७ जना, १६ गते १ हजार १ सय ९८ र १८ गते १ हजार २ सय २० हुँदै यो सङ्ख्या १ हजार २ सय ७१ पुगेको छ । असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत सङ्क्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव ४३ प्रतिशत रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यालय प्रमुख तिवारीले निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको बताए । उनले भने, “राम्रोसँग सङ्क्रमितको सङ्ख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको छ ।” मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः सङ्क्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । बर्सातको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेको भन्दै उनले भने, “यस्ता कारणले गाउँघरमा सङ्क्रमितको सङ्ख्या झन् बढ्न सक्छ ।” कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न पनि उनले सुझाव दिए ।


प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे । जिल्लाका अस्पतालमा २ सय १९ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र १ सय १० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २ सय ८७ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय ६३ पुगेको छ । -रासस

प्रतिकृया