• ४ साउन २०८३, सोमबार
  • ८:३२ बेलुका

काभ्रेमा आफ्नै परिवारका सदस्यको कुटपिटबाट महिला गम्भीर घाइते

प्रकाशित मिति

२०७८ जेष्ठ २८ गते, शुक्रबार ०३:४१

काठमाडौँ : काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं‌‍-१२ वलुवा बस्ने आफ्नै घरका देवर नाता पर्ने भीमबहादुर तामाङ, उनकी पत्नी नानी तामाङ र बुहारी मुङ्मा तामाङले सामुहिक रूपमा कुटपिट गरेको घाइतेका छोरा राजु तामाङले बताएका छन् । कुटपिटबाट महिला गम्भीर घाइते भएकी छिन् ।


२४ गते राति तिनै जनाले आफ्नी आमामाथि आक्रमण गरेको राजुले बताएका छन् । उनीहरूले कुटपिट गर्नुको कारण नै थाहा नभएको आफ्नी आमाको भनाइ उद्धृत गर्दै राजुले भने, ‘२४ गते राति करिब ८-९ बजेतिर एक्कासी उनीहरूले आक्रमण गरे, त्यसपछि मलाई याद छैन । तर देवरहरूको परिवारले कुटेको हो ।’ राजुका अनुसार कुटपिट गर्नेविरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको छ । हाल घाइतेको भक्तपुरस्थित आरोग्य मल्टिस्पेसिपालिटी हस्पिटलमा उपचार भइरहेको छ । राजुले उपचारमा कसैले ध्यान नदिएको गुनासो गरेका छन् । यस्तै उनले घटनाबारे शीघ्र अनुसन्धान गरेर न्यायको माग गरेका छन् ।

Kamana Sewa

तर यता पाँचखाल नगरपालिका वडा नं-१२ का वडाध्यक्ष गोपाल दनुवारले घटना रहस्यमय भएको बताएका छन् । ‘२४ गते साँझ साढेचार पाँच बजेतिर उनीहरूका घरमा भनाभन भइरहेको आवाज सुनिएको थियो । आफूहरूको घर खोलावारि-खोलापारि भएकाले त्यो सुनिन्थ्यो ।’ दनुवारले भने । ‘पहिला पनि घरायसी विवादलाई लिएर भनाभन भइरहने तर सम्झाइबुझाइ गर्दा कुरा मिलिहाल्थ्यो ।’

Classic Tech Desktop

त्यस दिनका बारेमा आफूलाई खासै जानकारी नभएको बताउँदै दनुवारले भने, ‘२५ गतेका दिन ती महिलाका श्रीमान् (मेरा मामा नाता पर्नुहुन्छ) मेरो घरतिर आउनुभयो । घटनाबारे केही पनि भन्नुभएन तर आफ्नी श्रीमती (मेरी माइजू पर्नुहुन्छ) मर्ने अवस्थामा भएकीले आफ्ना छोरालाई फोन गरिदिन भन्नुभयो । वहाँको छोरा काठमाडौंमा बस्नुहुन्थ्यो र मैले वहाँलाई फोन गरिदिएँ ।’उनले आफ्ना छोरालाई फोनमा भनेको कुरा उद्धृत गर्दै दनुवारले भने’ तिम्री आमालाई त झाडावान्ता भएको र अवस्था नाजुक छ, त्यताबाट ट्याक्सी पठाउँछस् कि हामी यताबाट केही गरौँ र त्यसपछि २६ गते बिहान कुटपिट गरेको घटनाबारे प्रहरिले बताएपछि मात्रै आफूले थाहा पाएको दनुवार बताउँछन् । घरमा कुटपिट भएजसरी कोलाहल पनि नभएको र अघिल्लो दिन मामाले माइजूलाई झाडावान्ता भएको भन्नुभएकाले घटनाबारे प्रष्ट नभएको दनुवारको भनाइ छ ।


यसैगरी काभ्रे प्रहरीले पहिला पनि घरायसी विवादका कारण उनीहरूबीच भनाभन हुने गरेको भए पनि यसपटकको घटना गम्भीर भएको बताएको छ । त्यसदिन साँझ घरमा भनाभन भएको तर घाइतेले आफू राति ८-९ बजेतिर भर्‍याङबाट लडेर चोट लागेको स्वीकार गरेको प्रहरीको भनाइ छ । घाइतेको उपचारसम्बन्धमा प्रहरीले अस्पतालसँग जानकारी लिएपछि उनको हड्डी भाँचिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया