‘ढुंगागिट्टी, बालुवा निकासीको नीति लिएर सरकारले असली अनुहार देखायो’
प्रकाशित मिति
२०७८ जेष्ठ १९ गते, बुधबार ११:११
काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले चुरे क्षेत्रबाट खानीजन्य ढुंगागिट्टी तथा नदीजन्य सामग्री बालुवा निकासी फुकुवा गर्ने सरकारी नीतिको विरोध गरेका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत व्यापार घाटा न्यूनिकरणका गर्न भन्दै ढुंगा, गिट्टी बालुवासहितका सामग्री निकासी गर्ने कार्यक्रम ल्याएको हो।
आर्थिक वर्ष २०७८–७९ को बजेटमा ढुंगा, गिट्टी, बालुवा निकासी खोल्ने घोषणा गरेपछि यसले चुरे क्षेत्रको विनाश हुने र जनजीविनमा गम्भीर असर पर्ने भन्दै वातावरण संरक्षणकर्मीसहितले गम्भीर आपत्ति जनाएको छन्। बजेटको बुँदा नम्बर १९९ मा अर्थमन्त्री विष्णु पौडेलले व्यवस्था गरेका छन्, ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु।’
चुरे दोहन गर्ने नीति ल्याएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको नेता थापाले उल्लेख गरेका छन्। उनले ट्वीट गरेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्नेुकार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रष्ट भएको छ।’
खानीजन्य सामग्री निकासी गर्न दिने नीतिलाई नेता थापालो नीतिगत भ्रष्टाचार भनेका छन्, उनले लेखेका छन्, ‘आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनस् छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।’
अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गरेर सरकारले जस्केलाबाट जनविरोधी कार्यक्रम ल्याएको उनले उल्लेख गरेका छन्। नेता थापाले लेखेका छन्, ‘यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु।’








प्रतिकृया