• ११ असोज २०८३, आइतबार
  • ३ः४८ दिउँसो

चीनको सिनोभ्याक खोपलाई डब्ल्युएचओले दियो अनुमति

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार १०:५९

एजेन्सी : विश्व स्वास्थ संगठनले चीनको सिनोभ्याक कोभिड खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्ल्युएचओका अनुसार यस खोप लगाएका ५१ प्रतिशतमा लक्षण देखिएको रोगको रोकथाम भयो । त्यस्तै, खोप लगाएकाहरुको शतप्रतिशत नमूनामा कडा खाले लक्षण र अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिएन ।

National Life

डब्ल्युएचओबाट स्वीकृति पाउने यो दोस्रो चिनियाँ खोप हो । यसअघि सिनोफार्मले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । अनुमतिसँगै कोभ्याक्स कार्यक्रम अन्तर्गत यो खोप प्रयोग गर्नका लागि ढोका खुलेको छ । यस कार्यक्रमले खोपको निष्पक्ष वितरण गर्ने लक्ष्य राखेको छ । धेरै देशमा अहिले प्रयोग भइरहेको सिनेभ्याक १८ वर्षमाथिका व्यक्तिहरुका लागि प्रयोग गर्न सिफारिस गरिएको छ । पहिलो डोज लगाएको दुई वा चार सातापछि यस खोपको दोस्रो डोज लगाइन्छ ।


‘आपतकालिन स्वीकृतिको अर्थ सुरक्षा, प्रभावकारीता र उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड यो खोपसँग मिल्छ भन्ने हो,’ डब्ल्युएचओले भनेको छ । ब्राजिलको एक शहरमा सिनोभ्याक लगाइएका वयस्कहरुमा मृत्युदर ९५ प्रतिशतले कमी आएको देखिएको थियो । साओ पाओलोस्थित ४५ हजार जनसंख्या रहेको सेराना शहरमा ७५ प्रतिशत जनसंख्यालाई खोप लगाइएपछि अस्पताल भर्ना हुनेको संख्या घटेको देखिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आपुर्तिको समस्याका कारण संघर्षरत अवस्थामा रहेको कोभ्याक्स परियोजनालाई पनि यो अनुमतिले प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । ‘विश्वभर खोप वितरणमा देखिएको ठूलो असमानतालाई सम्बोधन गर्न धेरै कोभिड १९ खोपहरु आवश्यक पर्छ,’ डब्ल्युएचओका एसिस्टेन्ट डाइरेक्टर जनरल मारियनगेला सिमाओले भनिन्,‘हामी उत्पादकहरूलाई कोभ्याक्स योजनामा संलग्न भएर आफ्नो जानकारीमा आएको डाटा शेयर गर्न र महामारीलाई नियन्त्रणमा ल्याउनका लागि योगदान गर्न अपिल गर्दछौं ।’


चीनले कोभ्याक्स परियोजनाका लागि १ करोड डोज कोभिड खोप अहिल्यै उत्पादन गरिसकेको जनाएको छ । त्यस्तै, यस वर्षको अन्त्यसम्म ३ अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । चीनसँग चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड र टर्कीलगायत देशमा यो खोप प्रयोगमा आइसकेको छ । विशेषगरी विकासशील देशमा यो खोप प्रभावकारी हुने अपेक्षा गरिएको छ किनकी यसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्छ ।

प्रतिकृया