वाणिज्य संघको ड्राई आईसोलेशन वार्ड यसै सातादेखि सञ्चालनमा आउने
प्रकाशित मिति
२०७८ बैशाख २९ गते, बुधबार ०२:५७
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले उपत्यका चार स्थानमा बनाउन थालेको आईसोलेसन वार्ड यसै सातादेखि सञ्चालनमा आउने भएको छ । अस्पतालमा बेड अभाव भएपछि विरामीलाई राहत दिन जैन भवनसहित उपत्यकाको क्षेत्रपाटी, भक्तपुर र ललिपुरमा ड्राई आईसोलेशन वार्ड निर्माण गरी सञ्चालन गरिने महासंघले जनाएको हो।

महासंघले २ सय ‘ड्राई आईसोलेसन वार्ड निर्माण कार्य शुरु गरिएको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘हामीले निर्माण गर्न लागेको आईसोलेसन वाड अब २ दिनमै तयार हुनेछ,’ उनले भने ‘जैन भवनमा हिजोबाट काम शुरु भएको छ, अन्यत्र पनि काम भइनै रहेको छ ।

उक्त वार्डमा कोभिड-१९ संक्रमण भएर घरमा बस्ने ठाउँ नभएका तथा अस्पतालमा भर्ना भएर रिकभरी हुँदै गरेका विरामीलाई राख्ने व्यवस्था मिलाइएको छ । यसले घरमा बस्ने ठाउँ नभएका र अस्पतालबाट डिस्चार्ज भएपनि रिकभरीको अवस्थामा रहेका संक्रमितलाई राखिने उनले बताए । यसैगरी महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको छ ।
महासंघले आम सर्वसाधारणको जीवन रक्षाका लागि सहायता केन्द्र स्थापना गरेको महासंघका उपाध्यक्ष ढकालले बताए । ‘विशेष गरी केन्द्रले चार÷पाँच वटा विषयलाई केन्द्रीत गरेर सहायता केन्द्र स्थापना गरेको हो,’ उनले भने ‘आईसोलेशनदेखि हस्पिटलमा वेडको व्यवस्थापन, अक्सिजन, एम्बुलेनस तथा हवाइयातायात व्यवस्थापनको संयोजन तथा व्यवस्थापन उक्त सहायता केन्द्रले गर्नेछ ।’
महासंघका सदस्य, उद्यमी, व्यवसायी एवम् सर्वसाधारणको माग र कोभिड संक्रमितले जतिसक्दो छिटो उपचार पाउन भन्ने उद्देश्यका साथ यो सेवा सञ्चालन गरिएको उनले बताए । वरिष्ठ उपाध्यक्ष ढकालका अनुसार अक्सिजनको सिलिण्डर व्यवस्थापनको जिम्मा महासंघका एशोसिएट उपाध्यक्ष रामचन्द्र संघइ र सौरभ ज्योतिलाई दिइएका छन् भने अस्पताल र आइसोलेसन केन्द्र सहजीकरणको जिम्मा देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा.केयुर गौतमलाई दिइएको छ ।
महासंघले होटल र हवाई यातायातको जिम्मा ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई दिएको छ । औषधि मेडिकल/उपकरण व्यवस्थापनको जिम्मा प्रवल जंग पाण्डे र भक्त हमाललाई दिएको छ । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका अधिकृत हरि पौड्याल र रिकु घिमिरेलाई ९८०१०९६८१२ / ९८०११९२५९१मा टेलिफोन र एसएमएसबाट आवश्यक सेवा टिपाउन सक्ने महासंघले जनाएको छ । महासंघले यस अघि भाइवर क्लिनिक संञ्चालन गरिसकेको छ ।




प्रतिकृया