आज चैते दसैं
प्रकाशित मिति
२०७८ बैशाख ७ गते, मंगलवार ०६:४२
काठमाडौँ : आज हिन्दुधर्मावलम्बिहरुले चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व नवदुर्गा भगवतीको पूजा गरी मनाउँदै छन् ।
वर्षमा चार नवरात्र पर्दछन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
आश्विन शुक्ल पक्षको नवरात्रमा भने प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दसैंलाई बडादसैं भनिन्छ। बडादसैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैंमा भने बडादसैँ जस्तो परम्परा धेरै परिवारमा छैन।
हनुमानढोकाको दसैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ। चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।
विगत वर्षमा चैते दसैं पर्वका अवसरमा विहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ। गत वर्षजस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ।
मन्दिर जान नसक्नेले घरबाटै मानसिक रुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए। वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ,उनले भने।
बडादसैं जस्तै चैते दसैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो। बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ।
आजका दिनमा उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दसैंका अवसरमा विशेष पूजा हुन्छ।
यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गर्ने गरिन्छ।






प्रतिकृया