• १९ भदौ २०८३, शुक्रबार
  • ७ः३२ बेलुका

प्रदेश १ मा होली लक्षित सुरक्षा कडाइ, नियम उल्लंघन गर्नेलाई कारबाही

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार १०:३३

विराटनगर: रंगहरुको पर्व होलीलाई लक्षित गरेर प्रदेश १ का १४ वटै जिल्लामा आज (आइतबार) बिहानैबाट सुरक्षा कडाइ गरिएको छ। प्रदेशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा व्यवस्था मजवुत बनाइएको हो।

 

Kamana Sewa

आज पहाडी तथा हिमाली क्षेत्रमा धुमधाम एवं हर्षोल्लाससाथ होली पर्व मनाउँदै छन्। भोलि तराईमा मनाइन्छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठका अनुसार विशेष गरेर आज होली मनाइने पहाडी तथा हिमाली क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Classic Tech Mobile

 

होली तराईका जिल्लामा भोलि मनाइने भएकाले त्यसलाई पनि मध्यनजर गर्दै उचित सुरक्षा प्रवन्धन गरिएको श्रेष्ठले बताए। ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई सुरक्षा नियन्त्रण एवं निगरानीमा राखिएको उनको भनाइ छ। श्रेष्ठका अनुसार होली मनाउने नाममा कानुनविपरीत हुने सबै गतिविधिमाथि निगरानी बढाएर कडाइ गरिएको हो।

 

होलीमा उसृङ्खल र अवाञ्छित गतिविधि गर्ने जोकोहीलाई पनि नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए। उनका अनुसार जबरजस्ती रंग दल्ने, लोला हान्ने र इच्छाविपरीतका कार्य गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ।
कोरोनाको जोखिम बढेकाले विशेष सावधानी अपनाएर र स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै होली मनाउन डीआईजी कार्कीले सबैमा आग्रह गरेका छन्। जमघट र भिडभाड गरेर तथा समुदायमा मनाइने होलीका कारण कोरोना संक्रमणको जोखिम अत्याधिक हुने भएकाले सबैलाई सावधानी अपनाउन र परिवारभित्र मात्रै होलीलाई कायम राख्न आग्रह गरिएको उनको भनाइ छ।

उनका अनुसार चाडपर्व मनाउने नाममा नियमविपरीत गतिविधी गर्नेहरुमाथि प्रहरीले निरन्तर निगरानी बढाएको छ। उचित सुरक्षा प्रवन्ध मिलाइएका कारण आइतबार बिहानसम्ममा होली पर्व मनाउने क्रममा प्रदेशभर कुनै पनि अप्रीय घटना हुन नपाएको डीआईजी कार्कीले बताए। उनका अनुसार विभिन्न अपराधिक घटना र अवाञ्छित गतिविधी हुने शंकास्पद स्थानलाई प्रहरीले आफ्नो निगरानी एवं नियन्त्रणमा राखेको छ। कुनै ठाउँमा अप्रीय घटना भएमा तत्काल परिचालन गर्ने र स्थितिलाई नियन्त्रणमा लिने गरी प्रहरीको ‘रिजर्ब’ फोर्स पनि तयारी अवस्थामा राखिएको जानकारी कार्कीले दिए।

होलीलाई लक्षित गरेर प्रदेश राजधानी विराटनगरसहित जिल्लाभरको सुरक्षा व्यवस्था मजवुत बनाइएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए। उनका अनुसार जथाभावी र इच्छाविपरीतको गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाउने तयारी छ। मादक पदार्थ एवं नसाजन्य पदार्थको सेवनबाट हुनसक्ने सम्भावित घटना नियन्त्रण गर्नतर्फ पनि सचेत रहेर प्रहरी सक्रिय बनेको उनको भनाइ छ।

होलीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन, नियमको पालना गर्न र कुनै स्थानमा हुनसक्ने सम्भावित घटनाका बारेमा तत्काल प्रहरीलाई खवर गर्न सबैमा आग्रह गरिएको एसपी खड्काले बताए। सुरक्षा व्यवस्था मजवुत बनाउँदै होलीलाई सुरक्षित र मर्यादित बनाउन तथा कुनै पनि घटना हुन नदिन आफ्नै नेतृत्वमा टोली लिएर खड्का आफै फिल्डमा निस्किएका छन्। एसपी खड्का नेतृत्वको टोलीले सवारी साधन, शङ्कास्पद व्यक्तिहरु तथा पैदल यात्रु र होलीमा रम्नेहरुमाथिको चेकजाँच एवं निगरानीलाई तीव्र पारेको छ।

प्रतिकृया