ऐरी र सर्राफको अलराउन्ड प्रदर्शनमा पुलिसको तेस्रो जित, सन्दीप नेतृत्वको काठमाडौँको लगातार हार
प्रकाशित मिति
२०७७ फाल्गुन २६ गते, बुधबार ०३:४२
काठमाडौँ: मेयर्स कप क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबले सन्दीप लामिछाने नेतृत्वको काठमाडौँ मेयर्स ११ लाई एक सय ३ रनले पराजित गर्दै शीर्षस्थान बलियो बनाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले ४७।४ ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन जोडेको थियो। पुलिसका योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, दीपेन्द्रसिंह ऐरीले २४ र पवन सर्राफले २८ रन बनाए।
काठमाडौँ मेयर्स ११ का सन्दीप लामिछाने, विपिन खत्री र हरिशंकर शाहले तीन तीन विकेट हात पारे। मेयर्स ११ ले ३१।२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र जोड्न सक्यो। नेपाल पुलिस क्लबका सर्राफले चार, ऐरीले तीन र ललित राजबंशीले २ विकेट हात पारे। काठमाडौँ मेयर्स ११ का लागि सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए। कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
चार खेलबाट ६ अंक भएको पुलिस शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको शसस्त्र प्रहरी बल एपीएफको ३ खेलबाट ४ अंक छ। काठमाडौं मेयर्स ११ को तीन खेलबाट दुई अंक छ। उसले लगातार दोस्रो हार ब्यहोरेको हो।







प्रतिकृया