इएफएल लिगः म्यानचेस्टरसँग २–० गोल अन्तरले एभर्टन पराजित
प्रकाशित मिति
२०७७ पुष ९ गते, बिहीबार ०६:३८
एजेन्सीः म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।
खेलमा युनाइटेडका लागि अन्तिम समयमा एडिन्सन काभानी र एन्थोनी मार्शलले गोल गरेका हुन् । ८८ औँ मिनेटमा काभानीले गोल गरी टिमलाई अग्रता दिलाए ।
इन्जुरी सयमको छैटौँ अर्थात ९६ औँ मिनेटमा मार्शलले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । फाइनल प्रवेशका लागि युनाइटेड अब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहमले स्टोक सिटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
ब्रिटानिआ स्टेडियममा भएको खेलमा टोटेनहमले स्टोक सिटीमाथि ३–१ गोलअन्तरले हराएको हो । खेलको २२ मिनेटमा ग्यारेथ बेलको गोलमा टोटेनहमले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्टोक सिटीका जोर्डन थोमसनले गोल गर्दै खेल बराबरीमा ल्याए। उता टोटनहमलाई खेलको बेन डेभिसले ७० औं मिनेटमा गोल गर्दै फेरि अग्रता दिलाए।
त्यस्तै ८१ औं मिनेटमा ह्यारी केनले अर्को गोल थप्दा टोटेनहमले खेल ३–१ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।







प्रतिकृया