पहिराले बेपत्ता भएका राजेश अझै भेटिएनन्
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार ०९:४६
तनहुँ, । पहिराले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ ।

बेपत्ता भएका राजेशको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ ।
पहिराले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको निधन भएको थियो । बुबा ५० वर्षीय केशव थापा भने घाइते छन् । उनको पोखरामा उपचार भइरहेको छ । पहिराले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको मृत्यु भएको छ भने तीन घाइते छन् ।




प्रतिकृया