सुनसरीमा विरोध प्रदर्शन उग्र, आगजनी–तोडफोडपछि सेना परिचालन
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार ०५:०२
११ साउन २०८३ सुनसरी- देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार उग्र बनेको छ। प्रदर्शनकारीहरूले देवानगञ्जका विभिन्न स्थानमा घर, पसल, सवारीसाधन र परालका टालीमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन्।
गाउँपालिका कार्यालय नजिकै रहेका घर, हार्डवेयर पसल, ट्र्याक्टर र मोटरसाइकलमा समेत आगजनी भएको प्रहरीले जनाएको छ। प्रदर्शनकै क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

यसअघि आइतबार दुई समूहबीचको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारणसहित २२ जनाभन्दा बढी घाइते भएका छन्।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ।




प्रतिकृया