कोरोनाकालमा बाढीपहिरोको ननिको चाल
प्रकाशित मिति
२०७७ असार २८ गते, आईतवार ०३:१२
लक्ष्मण प्रसाद खतिवडा,

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले वितण्डा मच्चाउँदै गर्दा नेपालमा केहीदिनदेखि परेको अविरल वर्षाले जनजीवनलाई थप प्रभावित पार्न थालेको छ । पहाडि जिल्लाहरुमा बाढी र पहिरोको त्रास बढ्दै गएको छ भने तराईका जिल्लाहरुमा डुबानको जोखिम उच्च हुँदै गएको देखिन्छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउँदै गर्दा बाढीपहिरोले देशका विभिन्न जिल्लामा धनजनको क्षति पुर्याएको छ । यसबाट सबै क्षेत्र प्रभावित भएपनि ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा उच्च रहेको देखिन्छ ।
सिन्धुपाल्चोक, गुल्मी, म्याग्दी, चितवन, झापा, तनहुँ, सङ्खुवासभा, कास्की, लमजुङ, जाजरकोट, कालिकोट लगायतका क्षेत्रमा पहिरोको कारण कतिपय मानिसहरुको मृत्यु भएको छ भने कतिपयलाई बाढीले बगाएर बेपत्ता पारिदिएको देखिन्छ । कतिपय स्थानमा झोलुङ्गे पुल बगाएको छ भने कतिपय स्थानमा सडक अवरुद्ध भएको छ । कतिपय स्थानका जलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको देखिन्छ भने कतिपय स्थानमा ड्याम भत्किई पानी यत्रतत्र बग्न थालेको छ । यसरी कोरोनाबाट मुक्त नहुँदै थपिएको बाढीपहिरोको कारण आफन्त, घर, जग्गाजमिन, कृषिउपज तथा पशुपन्छि आदि गुमाउनु परेको पिडा भोग्नुपरेको छ । वर्षासँगै आएको बाढीपहिरो र डुबानले कैयौं परिवार विस्थापित भएका छन् । अझैपनि पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा टरेको देखिदैन ।

नेपालमा बाढी, पहिरो तथा डुबानको समस्या हरेकवर्ष हुने गरेको देखिन्छ । हाल पनि निरन्तर आएको अविरल वर्षासँगै बाढी, पहिरो र डुबानले विभिन्न स्थानमा समस्या उत्पन्न गराएको छ । पहिरोले गर्दा सडकहरु अवरुद्ध भै आवागमनमा अवरोध खडा भएको छ । यसका साथै पहाडि क्षेत्रहरुमा गएको पहिरोको कारण बस्तीहरु बगी नागरिकहरुको अवस्था दयनीय बन्दै गएको छ । सहरमा अव्यवस्थित विकासको कारण वर्षाको पानीको निकास व्यवस्थित नहुँदा सहरहरु डुबानमा परेका छन् भने पहाडि क्षेत्रहरुको कमजोर भौगर्भिक बनोट, भिरालो जमिन, कमजोर माटो, नाङ्गा पाखा, जथाभावी खनिएका खडक, खोलाको नजिक अनि अति संवेदनशील क्षेत्रमा भएका बस्ती आदि कारणले बाढी र पहिरोको जोखिम बढ्न पुगेको देखिन्छ ।
हुनत नेपाल बाढीपहिरो तथा डुबानको अति उच्च जोखिमको क्षेत्र हो । विगत केही वर्षदेखि नेपालको पहाडि क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा बाढी नियमित रुपमा आउने गरेको छ । यसले धेरै मानिसहरुको ज्यान लिनुका साथै अर्बौ रुपैयाको नोक्सानी समेत गर्दछ । तरपनि यसको न्यूनीकरण गर्न नसक्दा वर्खायाममा हामीलाई धेरै समस्यामा पारेको छ ।
प्राकृतिक प्रकोपलाई रोक्न नसकिए पनि त्यसबाट सिर्जित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ । प्राकृतिक स्रोतसाधनहरुको अत्यधिक दोहनका कारण वातावरणीय सन्तुलन खल्वलिई अतिवृष्टि, अनावृष्टि तथा खण्डवृष्टि जस्ता समस्याहरु आउन थालेका छन् । यसको साथै बढ्दो वनविनाश, अव्यवस्थित सहरीकरण एवं खानी उत्खननका कारण पनि बाढी र डुवानको समस्या उत्पन्न हुने गर्दछ । यसबाट बच्न बढ्दो वनविनाश नियन्त्रण गरी वृक्षारोपणलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्न सकिन्छ । यसबाट पहिरो त नियन्त्रण हुन्छ नै खोला तथा नदी किनारका जग्गाहरुमा रुखविरुवाहरु लगाउनाले खोला छेउको बस्तीभित्र बाढी पस्न पाउँदैन । बाढीको वहाबबाट जोगाउन यो अत्यन्त जरुरी छ । यसको साथै जोखिमको आधारमा जमिनको वर्गीकरण गरी सोही अनुरुप जमिनको उपयोग गर्न सकियो भने पक्कै बाढीको विपदबाट जनधनको क्षति कम भई उत्पादकत्व पनि बढाउन सकिन्छ ।
बाढी तथा पहिरो प्राकृतिक विपत्त्ति हुन् । यसलाई नियन्त्रण त गर्न सकिदैन । अबिरल वर्षाले पुराना संरचना भत्काउने, पहिरो जाने, बाढी आउने, डुबानको अवस्था सिर्जना गर्ने हुनाले सम्भावित जोखिमको बेलैमा पहिचान गरी सोही अनुसार कार्य गर्ने हो भने पक्कै क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।
सहरी क्षेत्रमा खोनानाला मासेर घर बनाउनाले पानीको निकास हुन नसक्दा खोलानालाहरु बस्ती प्रवेश गर्ने गरेका छन् । कतिपय नदीहरुको दुबै किनारमा तटबन्ध नहुनाले तथा भएकाको समेत हेरचाह तथा मर्मत सम्भार पनि नहुनाले पानी नजिकको खेती तथा बस्तीभित्र पस्ने गर्दछ । यसको समाधानको लागि नदीहरुमा वर्षाको पानी जम्मा गर्ने जलाशयहरुको निर्माण, नदीको दुबैतिर तटबन्धको निर्माण, भएको तटबन्धहरुको मर्मर सम्भार, नदी किनाराका बस्तीहरुको स्थानान्तरण गर्न सकिन्छ ।
प्रकोप आएपछि मात्रै ध्यान दिने तथा अन्य समयमा यस सम्बन्धि ठोस कार्य गर्न नसक्दा बाढी पहिरो लगायतका विभिन्न समस्या विगतदेखि हामीले भोग्दै आएका छौं । नदीनालाको तटीय क्षेत्र अतिक्रमण गरी संरचनाहरु निर्माण हुनु, पहाडि क्षेत्रमा वैज्ञानिक नाँपजाँच तथा इन्जिनियरिङबिनै सडकहरुको निर्माण हुनु पनि बाढी पहिरोको मुख्य कारण नै हो । यस्ता समस्या समाधान गर्न एक्लैले मात्र नसक्ने भएकोले संघीयसरकार, प्रदेश सरकार, स्थानीय सरकार लगायत निजी क्षेत्र, विभिन्न संघसंस्थाहरु हातेमालो गर्दै अगाडि बढ्न जरुरी देखिन्छ । यसको साथै कोरोना सङ्क्रमणले त्रस्त बनाएको हामीलाई बाढी पहिरोले थप पिडा दिने भएकोले व्यक्ति स्वयं समेत सतर्क रहनु पर्दछ । राज्यले पनि विपदपछि सम्भावित महामारी र रोगव्याधिप्रति बेलैमा सोचेर पूर्वतयारी गर्न सक्ने हो भने पक्कै बाढीपहिरोबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।



प्रतिकृया