नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व हिजोदेखि सुरु
प्रकाशित मिति
२०७७ असार २७ गते, शनिबार ०७:३६
जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व शुक्रबार देखि सुरु भएको छ ।
साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि सुरु हुने मधुश्रावणी पर्व नवविवाहिताहरुले १५ दिनसम्म पतिको दिर्घायुको कामना गर्दै मनाउने गर्दछन् ।
विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवं सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ १५ दिनसम्म चल्ने यस पर्वमा नवविवाहित महिलाहरु भगवान शिव र विषहरा अर्थात नाग देवताको पूजा गर्छन् ।
यो विशेष अनुष्ठानमा नवविवाहित महिलाहरुले सुखी जीवनको अपेक्षा गर्दै पूजा गर्छन् । पञ्चमी तिथिबाट सुरु भएको यस पर्वमा आज माटोको वा गाईको गोबरको कलात्मक ढङ्गले नाग, नागिन मूर्ति बनाएर विधिपूर्वक पूजाअर्चना गरी पर्वको शुभारम्भ गरिन्छ । मधुश्रावणी पर्वको पहिलो दिन हिजोदेखि फुललोढी सुरु भएको छ । मधुश्रावणी पर्वमा शिव र पार्वती तथा नाग देवताको पूजा गर्ने गरिन्छ । नवविवाहिताहरुले माटोको नागदेवता बनाई १५ दिनसम्म प्रत्येक साँझ समुहमा गीत गाउँदै फुलपात टिपेर साँझ र विहान पुजा गर्ने चलन रहेको छ ।
पतिको दिर्घायु एवं सुखशान्तिको कामना गरि मनाउने हुनाले यो पर्वको निकै ठुलो महत्व रहेको उनको भनाई छ । साउन शुक्ल पञ्चमी तिथिका दिन देखी मधुश्रावणी सुरु भई १५ दिन पछी कृष्ण पक्षको पञ्चमी तिथिका दिन सम्पन्न हुने गर्दछ । यो १५ दिनको अवधिमा पहिलो पञ्चमीलाई मैनापञ्चमी र अन्तिम पञ्चमीलाई मधुश्रावणी भन्ने गरिन्छ ।
यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट नयाँ बस्त्र लगायतका खानेकुराका साथै पूजाका लागि आवश्यक पर्ने सामग्री पठाउने परम्परा छ । माटोको नाग–नागिन पनि कोसेलीका रुपमा पठाउने गरिन्छ । यस अवधिमा ससुरालीबाट आएका अन्न नै ग्रहण गर्नुपर्ने र नियम निष्ठाका साथ बस्नुपर्ने परम्परा छ ।
यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकारी राख्ने महिलाले प्रत्येक दिन कम्तीमा एउटा कथा सुनाउने गर्छन् । टोलभरीका महिला एक स्थानमा जम्माभई ध्यानपूर्वक कथा श्रवण गर्ने र पूजाको अन्त्यमा धार्मिक एवं पर्वसँग जोडिएका गीत गाएर सो दिनको पूजा विसर्जन गरिन्छ ।
पहिलो दिन नाग–नागिन देवीदेउताको पूजा गरी शुभारम्भ गरेपछि दोस्रो दिन महादेवको मानस पुत्री बिहुलाको कथा, बिसहराको कथा,मङगला गौंरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थन कथाका बारेमा जानकारी गराइन्छ । त्यसपछि, क्रमिक रुपमा सतीको कथा, पतिब्रताको कथा, महादेवको परिवारको कथा, गङ्गाकीे कथा, गौंरी अर्थात पार्वतीकी जन्म, तपस्या, र विवाह, गौंरीकी माता मैनाकी मोहभङ्गको सम्बन्धमा नवविवाहितालाई जानकारी गराइन्छ ।
त्यसैगरी, कात्तिक र गणेशको जन्म, सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिब्रता सुकन्याकीे कथा, बाल वसन्त, गोसाउनिको कथा, राजा किरकको कथा र गणेशद्वारा सोहागको मन्थन र वितरणको सम्बन्धमा जानकारी गराइन्छ । मधुश्रावणी पर्वको अन्तिम दिन महिलालाई भोज खुवाउने परम्परा छ । यो भोजभतेर नवविवाहिताको ससुरालीको पक्षबाट गर्ने गरिन्छ ।
भगवान गौरीशंकर र नागदेवताको पुजा गरेपछि अन्तिम दिन ‘टेमी’ कपासको वत्तीले बेहुलीको घुठ्ना र खुट्टाको पञ्जामा पोलेर ‘मधुश्रावणी’ पर्वको अन्त्य हुन्छ । वत्तीले पोलेपछी बेहुलीको खुट्टामा फोंका आउँदा उसको वैवाहिक जिवन राम्रो हुने धार्मिक जनविश्वास रहिआएको छ ।
प्रतिकृया