• 1:12 am

कैलालीका नदीमा देखिए दुर्लभ डल्फिन

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार ०१:५३

धनगढी, विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन् । नदीमा पानीको सतह बढेपछि यहाँ डल्फिन देखिन थालेका हुन् । पानी कम भएको बेला गहिरइ खोज्दै कर्णालीतिर जाने डल्फिन पानीको सतह बढेपछि मोहना, पथरैया, काँढालगायत नदीमा आइपुग्ने गर्दछन् ।

चुरे क्षेत्रमा वर्षा भई नदीमा पानीको सतह बढेपछि शनिबारदेखि दुई वटा डल्फिन देखिन थालेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष पहिलो पटक एउटा वयस्क र उसको बच्चा देखा परेका छन् ।

माउ र बच्चा डल्फिन मोहना र पथरैया नदीको दोभानमा देखिएको ढुङ्गानाले बताउनुभयो । विगतमा असार पहिलो सातातिरबाट डल्फिन कर्णालीको सहायक नदीहरूमा देखिने गरेका थिए । डल्फिन देखिएको र मनसुनभरि अवलोकन गर्न पाइने यो स्थान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको सहायक नदीमा मनसुनभरि देखिने गर्दछन् । मनसुन सकिएसँगै डल्फिनहरू पुनः मुख्य नदी कर्णाली हुँदै भारतको घाँघरासम्म पुग्ने गरेको बताइन्छ ।

यद्यपि, यस वर्ष माघमा पनि मोहना नदीमा डल्फिन देखिएको थियो । कर्णाली नदीमा भने वर्षभरि नै डल्फिनको बसोबास रहने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।

प्रतिकृया