वाग्मती गाउँपालिकाका वडाध्यक्ष तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत आचार्यद्वारा राहत कोषमा रकम जम्मा
प्रकाशित मिति
२०७६ चैत्र २२ गते, शनिबार ०६:१९
ललितपुर, वाग्मती गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण लागि खडा गरेको विपत व्यवस्थापन कोषमा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले एक लाख एक हजार १०१ रूपियाँ र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले स्वच्छिकरूपमा एक महिनाको तलब र प्रदान गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक पूर्व तयारी लगायतका अन्य काम गर्नुका लागि खडा गरिएको कोषमा उहाँहरुले उक्त रकम प्रदान गर्नुभएको हो ।

वाग्मती गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को जोखिम समयमा काम गर्ने गाउँपालिकाका स्वास्थ्य सेवाका कर्मचारीलाई प्रोत्सान स्वारूप भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । शनिवार बसेको बैठकले भट्टेडाडाँ स्वास्थ्य चौकीलाई एक लाख रूपियाँ, इकुडोल स्वास्थ्य चौकीलाई ७५ हजार र अन्य पाँच वटा वडाका प्रति स्वास्थ्य चौकीलाई पचास हजार रूपियाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।
उच्च जोखिममा रहेर काम गर्ने स्वास्थ्य सेवाका कर्मचारीलाई प्रोत्सान स्वरूप भत्ता प्रदान गर्नका लागि सो रकम प्रदान गरिएको गाउँपालिकाका जनाइएको छ । सो रकम सातवटा स्वास्थ्य चौकीमा काम गर्ने कर्मचारीलाई प्रदान गरिनेछ । बैठकले राहत वितरणका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा र स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी आवश्यकता अनुसार सर्वपक्षीय समिति बनाउन आग्रह गरेको छ । उक्त कामको अनुगमनका लागि गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन संयोजकत्वमा सबै राजनीतिक दलका गाउँपालिका स्तरीय प्रमुख सदस्य, आवश्यकता अनुसार सरोकारवाला व्यक्ति र संस्थाको प्रतिनिधि रहने गरी अनुगमन समिति बनाउने निर्णय भएको छ ।

बैठकले लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारका व्यक्तिका लागि नेपाल सरकारले जारी गरेको राहत मापदण्ड अनुसार राहत पाउने व्यक्तिको नामावली चैत २६ गतेभित्र गाउँपालिकामा पेश गर्न सबै वडाध्यक्षलाई आग्रह गरिएको छ । गाउँपालिकाले कोरोना भाइरसबाट बच्चनका लागि नियमितरुपमा साबुन पानीले हात धुने, माक्स स्यानिटाइजर प्रयोग गर्ने र लकडाउनका पूर्णरुपमा पालना गर्न सबैमा आग्रह गरिएको छ । अध्यक्ष लोप्चनले कोरोना भाइरसबाट बच्नका लागि लकडाउनलाई पूर्णरुपमा पालना गर्न सबैमा आग्रह गर्नुभयो ।



प्रतिकृया