• 10:11 am

दक्षिण कोरियामा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउ देउवाको अपिल

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ०६:३८

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण कोरियाको थुगु सहरमा रहेका नेपालीलाई युद्धस्तरको उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

सभापति देउवाले नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाउँदै नेपालीको सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दक्षिण कोरयामा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी संक्रमित भएका छन् । कोरोनाबाट थुगु सहर बढी प्रभावित बनेको छ । रोजगारीको सिलसिलामा थुप्रै नेपालीहरु दक्षिण कोरियामा छन् ।

सभापति देउवाले पठाउनु भएको पत्रमा भनिएको छ–

“कोरोना भाइरस ९कोबिड १९० को संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेका छन् । केहिदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहिको मृत्यु समेत भैसकेको विवरण संचार माध्यमहरु मार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संवेदनशीलता प्रति हाम्रो चासो बढेको छ । नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौं ।

विशेष गरी संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु ।

यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गर्दछु ।

जय नेपाल !”

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिकृया