• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

अबको छ महिनामा भक्तपुर अस्पताललाई व्यवस्थित र सेवा सुबिधा सम्पन्न गराउछु : डा.सुमित्रा गौतम

प्रकाशित मिति

२०७६ फाल्गुन ४ गते, आईतवार ०३:५९

१ सय १३ वर्ष पुरानो भक्तपुर अस्पताल बागमती प्रदेशमा भएका ८ वटा सरकारी अस्पताल मध्य बीर अस्पताल पछिको देशकै दोस्रो अस्पतालको रुपमा स्थापना भएको थियो । प्रभावकारी सेवा प्रवाह नहुँदा बिगत लामो समय देखी कर्मचारी र स्थानीयवासीको गुनासोमा पर्दै आएको भक्तपुर अस्पताल हाल आएर व्यवस्थित हुने क्रममा रहेको छ । अस्पताल भवनको पुन निर्माण लगत्तै नयाँ भवन निर्माण, कर्मचारी व्यवस्थापन, आ.सी.यु को व्यवस्थापन, औषधीको नियमितता जस्ता कार्यहरु हुँदै छन् । साथै भक्तपुर अस्पताललाई रिफर सेन्टरको रुपमा मात्र रहेको आरोपलाई गलत साबित गर्न नयाँ नियमावलीका साथ मेडिडकल सुपरीटेन्डेण्ट पदमा हालै नियुक्त हुनुभएकी डा. सुमित्रा गौतम अस्पतालको सुधारका लागि यति बेला केही गरौं भन्ने मनसायका साथ सकृय हुनुहन्छ । यसै सेरोफेरोमा रहेर अस्पतालको बिगत,बर्तमान र भबिष्य तथा संभावना र चुनौतिबारे डा.गौतमसँग गरिएको कुराकानी :

तपाई भक्तपुर अस्पतालमा केही समय अगाडी मात्र नियुत्त भएर आउनु भएको छ, तपाईलाई यहाँको काम गर्ने वातावरण कस्तो लागेको छ ?

Kamana Sewa

सबै सरकारी अस्पतालको काम गर्ने तरिका उस्तै हुन्छ । तापनि भक्तपुर अस्पताल भने तुलनात्मक हिसाबले अरु अस्पताल भन्दा सेवा–सुविधा र सहयोगबाट बन्चित भएको महसुुस भयो मलाई । सरकारबाट स्वीकृत अन्य अस्पताल भन्दा भक्तपुर अस्पतालमा स्वास्थ्य मन्त्रालय विभागबाट आउनु पर्ने विभिन्न किसिमका सुविधाहरु, जनताले पाउँनु पर्ने सेवाहरु, कर्मचारीले गर्नुपर्ने कामहरुमा फरक पाए । सरकाले मलाई यो पदमा नियुक्त गरेपछि म स्वयम्ले पनि यही वातावरणमा काम गर्नुपर्ने हुन्छ । अन्य अस्पतालमा भन्दा यहाँ धेरै कुरा व्यवस्थित गर्न जरुरी देखेको छु । यहाँ कालक्रम प्रणाली अनुसार काम हुदै आएको पाएँ । जहिले पनि एकै किसिमले चल्दै आएको पाएँ ।

Classic Tech Desktop

जुन इलाकामा यो अस्पताल अवस्थित रहेको छ, अस्पताल एक किसिमको पीडामा बाँचेको अनुभव भयो । किनकी भक्तपुर अस्पतालको जमिनको क्षेत्र विभिन्न संघसंस्थाहरुबाट अतिक्रमण हुदै आएर घटेको स्थिति छ । १८ रोपनी ४ आना रहेको जमिन त्यस मध्यमा अहिले अवस्थित रहेको जमिन ५ देखी ७ रोपनी मात्र बाँकी रहेको छ । केही जमिन मानबअङ्गले अतिक्रमण गरेको छ भने केही क्यान्सर अस्पताल र रेडक्रसले । यस कारण भक्तपुर अस्पताल एकदमै खुम्चिएर बचेको अबस्था छ । यी अप्ठ्याराहरु बीच पनि अस्पतालले दिने सेवा भने राम्रो छ । पुस महिना जाडोको समय भएको हुनाले अस्पतालहरुमा बिरामीको चाप कम हुने गर्छ । तर यो समयमा पनि भक्तपुर अस्पतालमा ४०० को हाराहारीमा आम बिरामीहरु र करिब २०० को संख्यामा बिमा गरेका बिरामीहरु भर्ना हुनु भनेको अस्पतालको हितमा राम्रो कुरा हो ।

मुलुकका धेरै अस्पतालमा डाक्टर, स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीहरु नभएको बेलामा तुलनात्मक हिसाबले यो अस्पतालमा कर्मचारी छन् । केही कठिन भएता पनि यही रहेका कर्मचारीलाई नै व्यवस्थित गरेर अस्पताललाई सुधार गर्न तर्फ लाग्छौँ । भक्तपुर अस्पताल स्थानियहरुको लागि आशाको केन्द्रको रुपमा रहेको छ । त्यसैले अब यसलाई व्यवस्थित गरेर लैजाने योजनामा हामीले काम गर्न सुरु गरिसकेका छौँ । यहाँको नागरिक समाज, अस्पतालको व्यवस्थापन विभागबाट सहयोग भयो भने पक्कै पनि काम गर्न थप उर्जा जोडिने छ र सफल हुनेछौँ ।

के कारणले अस्पतालमा यति धेरै समस्या उत्पन्न भएको हो जस्तो लाग्छ तपाइलाई ?

अहिले जुन मानव अङ्गको भवन रहेको छ त्यो पनि भक्तपुर अस्पतालको लागि भनेर बनेको रहेछ । तर त्यती बेलाको व्यवस्थापन कमिटी र मे.सु.ले भक्तपुर अस्पताललाई बनेको भवन के कारणले छोड्नु भयो त्यो फरक कुरा हो । तर एउटा ठुलो अवसर गुमेको महसुुस भयो मलाई । उहाँहरुले त्यति बेलाको परिस्थितिले गर्दा छोड्नु पर्यो होला । मलाई पनि अहिले एक किसिमको डर रहेको छ कि यदि मलाई यहाँको नागरिक समाज, अस्पतालको कर्मचारी, राजनैतिक दलहरुले साथ र सहयोग गर्नु हुदैन कि ? गर्नु भएन भने मैलै जुन भक्तपुर अस्पताललाई नमुना अस्पताल बनाउने योजना बनाएको छु त्यसमा केही बाधा आउँछ कि भनेर एक किसिमको डर पनि छ । उहाँहरुले पनि केही समस्या परेको हुनाले छोड्नु भएको हो कि भन्ने लागेको छ ।

मे.सु. को पद केही समय खाली पनि रहेको थियो नि ?

केही समय मे.सु नभएको अबस्था पनि रहेको रैछ । तर यो पद खाली हुनु अगावै यो अवसर फुत्किसकेको रहेछ । त्यति बेला त्यो समस्या संबोधन नभएको कारणले अहिले सुधार गर्नका लागि त्यति सहज छैन ।

भक्तपुर अस्पतालमा कर्मचारीको कुल संख्या कति रहेको छ ?

नेपाल सरकारबाट १२५ जना र समितिबाट ५५ जना कर्मचारीहरु हुनु पर्ने हो । त्यसमा अहिले नेपाल सरकार र समिति गरेर जम्मा ११४ जना कर्मचारीहरु छौँ । नेपाल सरकारका स्थायी कर्मचारीहरु ५६ जना, करारबाट १५ जना र समितिबाट ५१ जना कर्मचारी रहेका छौँ । सरकार बाट १२५ जना कर्मचारी तोकिएता पनि हाल आधा भन्दा कम ५६ जना मात्र रहेको छ । भक्तपुर अस्पतालको हकमा ६०–७० प्रतिशत कर्मचारी मात्र कार्यरत रहेको अबस्था छ । विभिन्न विभागमा डाक्टर, कन्सलटेन्टहरुको अभाव छ ।

चिकित्सकहरुको कमी भएर विरामीहरुले पाउनु पर्ने उपचार सेवा नपाएको सुनिन्छ नि, कतिसम्म सहि हो ?

मैले कार्यभार सम्हालेर बसेको १ महिना भन्दा बढी भइसकेको छ । आजसम्म एक जना बिरामीलाई पनि फिर्ता गराएको छैन । एक जना चिकित्सकले २० जना बराबर बिरामीहरुलाई हेर्नुपर्ने हुन्छ तर अहिले ८० देखि १५० जनासम्म बिरामीहरुलाई हेर्नु भएको छ । अरु दिनको अनुपातमा आइतबारको दिन अलिक बढि बिरामी हेर्नुपर्ने हुन्छ । एक जना बिरामीलाई १० देखि १५ मिनेट समय दिनुपर्ने भएता पनि चिकित्सक कम भएको कारण त्यति समय दिन सकेको छैन । डाक्टरहरु विहान १० देखि ३ बजे सम्म बस्नुहुन्छ । बिरामी भएको बेला अल्टा«साउण्डको लागि चिकित्सकहरु ५ बजेसम्म पनि काम गर्नुहुन्छ । चिकित्सक कम भएता पनि बिरामीहरुले सेवा नपाएको कुरा गलत भ्रम मात्र हो ।

भक्तपुर अस्पताललाई रिफर सेन्टरको रुपमा मात्र परिणत भएको स्थानीयहरुको आरोप छ, यसमा तपाइको भनाई के छ ?

रिफर गर्ने कुरा केही हदसम्म सही पनि हो । हरेक अस्पतालले गर्दै आएको सामान्य कुरा हो । म आएपछि महत्वपुर्ण धेरै कामहरुको थालनी गरिसकेकी छु । बिचमा अस्पतालले राम्रो नेतृत्व नपाएको हुनाले पनि अस्पताल अव्यवस्थित भएको हो । अस्पतालमा नयाँ मे.सु. ले कस्तो काम गर्छ भन्नेमा प्रश्न थियो । मैले पनि अस्पताल रिफर सेन्टरमा परिणत भएको सुने । केही सत्यता भए पनि यसका कारण छन् । समायोजनका कारणले पनि डाक्टरहरु हेरफेर भए ।

विभिन्न विभागमा डाक्टरहरुको अभाव भएपछि बिरामीहरुलाई रिफर गर्न बाध्यता थियो । अपरेसनहरु हुन रोकिएको थियो । एनेसथेसिया (Anesthesia) गर्नुपर्दा पनि ३ वजे सम्म बाहिरको अस्पतालबाट डाक्टर बोलाएर गर्ने गरेको थियो । बेलुकी ३ बजे देखि विहान ९ बजे सम्म बेहोस पार्ने डाक्टर नभएको कारण इमरजेन्सी अपरेसन, इमरजेन्सी ल्यापरोसकोपी, डेलिभरि, अपेन्डिसाइट, फ्याकचरको अपरेसन नहुदा रिफर गरिन्थ्यो । अहिले मैले यस विषयमा केन्दि«त रहेर काम गर्ने प्रयास गरेको छु । नयाँ विषेशज्ञ चिकित्सकहरु ल्याउने भन्ने कुरा अस्पतालको नियम भित्र बसेर मात्र ल्याउन सक्ने प्रावधान रहेको छ । यसको लागि नेपाल सरकारसँग कुरा गरेर प्रदेशबाट १ जना आईसक्नु भएको छ । अहिले ३ बजे देखी ५ वजे सम्म अपरेसन गर्ने डाक्टर उपलब्ध गराएका छौँ । त्यसपछि बिहान ९ बजेसम्मको लागि अल्टरनेटिभ डाक्टर राख्ने काशिसमा छौँ ।

क्यान्सर अस्पताल वा नजिकको अन्य अस्पतालबाट डाक्टर ल्याउने बारे छलफल भइरहेको छ । यो विषयका एकजना डाक्टरलाई ल्याउँदा ५ हजारको दरले पनि धेरै खर्च पर्छ र अहिलेको अबस्थामा अस्पतालले यो खर्च व्यहोर्न सक्ने स्थिति छैन । त्यसै गरि नजिकका अस्पतालमा पनि पहल गर्दै छौँ । यदि त्यहाँबाट नभएको स्थितिमा हामीले समितिबाट नै उपलब्ध गराउने छौँ । अहिले हामीले धेरै सुविधा थप गरि उपलब्ध गराएका छौँ । अब चाँडो भन्दा चाँडो अपरेसन गर्न सहज होस् भनेर Laparoscopy सुरु गर्दैछौँ । अबको बजेट बिनियोजन भएपछि टेण्डर गरी खरिद गर्ने प्रकृया पश्चात नै यो मेसिन ल्याउने छौँ । अबको एक महिना, यही फागुन भित्रमा काम सुरु हुनेछ ।

तपाइको कार्यकालको एक महिनाको भोगाइबाट भक्तपुर अस्पतालको मुख्य समस्याहरु के–के देख्नु हुन्छ ?

मेरो अनुभवको आधारमा यहाँको समस्यालाई मैले तीन भागमा वर्गीकरण गरेको छु । यस विषयमा प्रि–प्लान पनि बनाई सकेकीे छु । सबै भन्दा प्रथममा भन्नु पर्दा मानव संसाधन व्यवस्थापन (Human Resource Management) हो । प्रयाप्त कर्मचारीहरु नभएको त्यसमा पनि मुख्यत चिकित्सकहरुको अभाव छ । Anesthesia को अझै एक जना चिकित्सक थपियो भने ICU  र Emergency मा बिरामीलाई भर्ना गराउन सहज हुन्छ । ICU चलाउनका लागी ८ जनासम्म कर्मचारीहरुको आवश्यक्ता परेको छ ।समायोजन भएर कति कर्मचारीहरु आएका छैनन् र केही जान बाँकी नै रहेको छ । त्यहाँबाट अन्य कर्मचारी थप भयो भने पक्कै पनि ICU चलाउनका लागि धेरै समय कुर्नु पर्ने छैन । यहाँ कर्मचारीहरुलाई पनि औपचारीक रुपमा सूचित गराइसकेको अबस्था छ ।

दोस्रो समस्या भनेको Service Improvement  (सेवा विस्तार) हो । हामीले दिनुपर्ने सेवाहरु सही ढङ्गबाट दिन सकेका छैनौ ,त्यसको कारण भनेको पूर्वाधार हो । सेवा विस्तारका लागि हामीले कदम बढाइ सकेको अबस्था छ । आशा छ चाँडै हामी लक्ष्यमा पुग्ने छौँ ।

तेस्रो भनेको Infrastructure  हो । Infrastructure नभएकोले गर्दा जति काम हुनुपर्ने हो त्यति गर्न सकिएको छैन । भक्तपुर अस्पतालको भवन सेवा बिस्तार गर्नका लागि पर्याप्त छैन । यसलाई Retro Fitting (प्रवलिकरण) गर्नुसँगै थप स्थान पनि चाहिन्छ । मानव अङ्ग र रेडक्रसले दिइएको भन्दा बढी स्थान ओगटेर बस्नु भएको कारणले पनि समस्या भएको हो । उहाँहरुले चाँडै स्थान खाली गर्ने बताउनु भएको छ । यसलाई सुधार गर्ने पक्रिया निरन्तर गर्दै छु ।

भक्तपुर अस्पताललाई प्रदेशको नमुना अस्पतालको रुपमा स्थापित गर्नसक्ने सम्भावना के छ ?

भक्तपुर अस्पताल भनेको सम्भावना भएको ठाउँ हो, यसमा कुनै दुई मत छैन । भक्तपुर अस्पताल केन्द्र तहको अस्पताल हो । अन्य गाउँ, जिल्लाशाखाको अस्पतालहरुमा मे.सु ले cardiologist लान्छु भन्दा दरबन्दी हुँदैन तर यहाँ भने ल्याउन सकिन्छ । यो सेन्टरको सुविधा भएको ठाउँ हो । यहाँको लागि कर्मचारी ल्याउन खोज्दा सकिन्छ । काम गर्छु भनेर अगाडी बढ्दा बजेट पनि पारित गराउन सकिन्छ । सरकारद्धारा भक्तपुर अस्पताललाई विशेष प्राथमिक्ता दिएर यहाँको कर्मचारीले लगनकासाथ काम गरे बजेटको कारणले पनि रोकिन सक्दैन । यो अस्पताललाई प्रदेशको ८ वटा अस्पतालहरु मध्य नमुना अस्पतालको रुपमा विकास गर्न नसक्ने भन्ने छैन । मेरो लक्ष्य नै भक्तपुर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्दै लैजाने हो । केही नयाँ कामहरु सरुु गरिसकेको छौँ । यही एक महिना भित्र कर्मचारीको नियमावली बनायौँ । पहिला १०० ट्यान्कर पानी किनिन्थ्यो भने अहिले घटाएर १२ देखी १५ ट्यान्कर मात्र पानी किन्छौँ । यसमा मानव अङ्ग प्रत्यारोपण केन्द«ले पनि सहयोग गरेको छ । शौचालयहरु अव्यवस्थित भएकोले सबै तोडेर नयाँ बनाउँदै छौँ ।

कर्मचारीहरुलाई विद्युतीय हाजिरी प्रयोगमा ल्याउँदैछौँ । माघ १ गतेबाट हामीले रजिस्टर फरम्याट हटाएर यसको सुरुवात गरिसकेको छौँ । सबैको लागि टेन्डर प्रक्रिया भइसकेको छ । फारमेसीको लागि कार्यालयको सामानहरु, राष्ट्रिय स्तरको पत्रिकामा टेन्डर निकालेर व्यक्तिगत रुपमा कसैले किन्न नपाउने ढङ्गबाट यी कामहरु एक महिना भित्र ग¥यौं । अब बिस्तारै क्रमबद्ध रुपमा हरेक विभागमा सुधार गर्नुपर्ने कर्मचारीहरुलाई प्रेरणा दिरहेका छौं । आफ्नो ढङ्गबाट मनोबल बढाइरहेको छौँ । लामो समयको कर्मचारीको समस्यामा पनि हामीले एक कदम अगाडी बढाएर पास गर्ने प्रोसेसमा जाँदै छाँै । अरुपनि धेरै काम सुधार गरेर लैजाने मनसायले अगाडी बढेका छौँ ।

भक्तपुरको अस्पतालको भवन आधुनिक तरिकाले बनाउने योजना कहाँ पुगेको छ ?

भक्तपुर अस्पतालमा नयाँ कामहरु सँगसँगै भवनको थालनी पनि गरिसकेको छौँ । मंसिर १० गतेबाट क्याण्टिन बनाउन सुरु गरेको थियौँ । फाल्गुनको १५ गतेसम्म यो पुर्णरुपमा तयार हुनेछ । क्रमबद्ध रुपले भवन बनाउँदै जानेछौँ त्यसपछि Emergency ward तयार गर्न प्राथमिक्ता दिन्छौ । असार महिनासम्म Emergency तयार गरिसक्छौ । अबको चार महिनामा Emergency ward सार्ने छौ । यो बिचमा हामीले सानो झुप्रो रहेको फारमेसीलाई अहिले व्यबस्थित गराई सकेको छौँ । यो एक महिना भित्र केही ठुला कामहरु गरिसकेको छौँ । अर्को भवनलाई मानव अङ्ग प्रत्यारोपन केन्द«को खाली रहेको ठाउँमा बनाउने योजना छ । अब केही दिनमा नै काम सुरु गर्नेछौ ।

नेपाल रेडकक्रस भएको ठाउँबाट बाटो निकालेर भवन बनाउनको निम्ति त्यहाँबाट सामान ओसारपसार गर्ने बाटो मागेका थियौ तर उहाँहरुले नमानिदिनु भएकोले अलिकति विलम्ब भइरहेको छ । त्यसको लागि पनि हामीले उहाँहरुसँग स्थान खाली गराइदिनको लागि अनुरोध गरेको छौँ । त्यहाँ खाली हुने बितिक्कै नयाँ भवन सुरु गर्नेछौँ । त्यसपछि हामी अहिले अवस्थित रहेको भवन बनाउन सुरु गर्छौँ । यो कार्य सक्ने २ महिनाको समय अवधि लिएको हो त्यसमा १ महिना बितेको छ ।

आधुनिक भवन के अर्थमा फरक हुनेछ ?

अस्पतालमा बन्ने भवन हुन त Retro Fitting हो । तर यसको जग देखि माथिसम्म फराकिलो ठाउँ बनाएर लैजाने योजना हो । Emergency ward लाई विषेश ध्यानमा राखेर नयाँ भवन निर्माण गरिने छ । चिसोको कारणले गर्दा अहिले त कलर लगाएर काम चलाईरहेका छौं । तर यसलाई आधुनिक किसिमको Modulation OT बनाइन्छ । त्यसलाई भुकम्प प्रतिरोधी देखि लिएर बिरामीलाई लैजाने र्याम्प, लिफ्टको व्यवस्था राख्दै छौँ । सेन्टर सप्लाईको अक्सिजन जस्ता किसिमको नयाँ प्रविधि भएको कारण यसलाई आधुनिक भनिएको हो ।

भक्तपुर अस्पतालमा बेलाबेलामा आन्दोलन हुने गर्दथ्यो यसको कारण के होला ? यसको समाधान के पहिल्याउनु भएको छ ?

मैले पनि यस विषयमा कर्मचारीहरुबाट खबर पाएँ । एकदुईवटा कारणले आन्दोलन भएको हो । अगाडीको मे.सु हरुले केही कर्मचारीलाई नियमावली नबनाएर थायी र अस्थायी भनेर नियुक्त नगर्नु भएकोले कर्मचारीहरुलाई यसले समस्या निम्त्याउने भयो । कर्मचारीमा केही वर्ष पछि थाई रुपमा परिणत हुनेछ भन्ने भ्रम उत्पन्न भयो । कुनै पनि कर्मचारीले संस्था भित्र काम गर्दा नियम भित्र रहेर गर्नु पर्ने हुन्छ । हामी सरकारी कर्मचारी भएर नियमावलीमा रहेर काम गर्नुपर्ने हुन्छ । थापाथली अस्पताल, बीर अस्पताल जस्ता अस्पतालमा नियमावली अनुसार काम हुने गरेको छ ।

गत साउन २८ गते नियमावली खारेज भएपछि तुरुन्तै विकास समिति पनि खारेज भयो । नियम अनुसार कर्मचारीलाई करारमा राख्नु पर्ने भयो । थाई कर्मचारीलाई किन करारमा ल्याएको भनेर उहाँहरुको लागि बार जस्तो भएको हो । यसमा कर्मचारीको दोष पनि देखिएन । अस्पतालको नियम अनुसार विकास समितिका कर्मचारीहरु बनिसकेपछि नियमलाई बेस मानेर काम सुरु गरेको हुन्छ । सेवा–सुविधा दिने कुरामा पनि नियम लागु हुन्छ । कार्य समिति हेरेर मे.सु.ले नियमावली बनाउनु पर्ने हुन्छ । यो समस्या पनि केही हदसम्म कम गरेको छु । म आइसके पछि पनि उहाँहरु फेरि आन्दोलनमा जानु भएको थियो । राजनीतिक नेता, प्रदेश सरकार, स्थानिय बासीसँग समन्वय गरेर नियमावली बनाउने कार्यमा ध्यान दियौँ । अब यो समस्याको हल भइसकेको छ ।

भक्तपुर अस्पतालको डाक्टर र नर्सहरुलाई तुलनात्मक हिसाबले अरु अस्पताल भन्दा बढी Incentive दिने गरेको कुरा वास्तविक हो ?

वास्तबमा भएको कुरा र सुनिएको कुरा फरक हो । जुन नियममा बीर अस्पताल, थापाथली अस्पताल रहेको छ भक्तपुर अस्पताल पनि त्यही नियममा बसेर काम गर्दै छ । म बिहान ९ वजेदेखि बेलुकाको ८ बजेसम्म पनि बस्ने गरेको छु तर मेरो कुनै किसिमको Incentive आउँदैन । मेरो तलब रु ४५ हजार छ तर बीर अस्पतालको मे.सु को तलबसँगै १००% भत्ता रहेको छ । जम्मा गरेर १५०% बराबरको भत्ता पाउनुहुन्छ । डाक्टरहरुले अपरेसन गरे बापत केही Incentive पाउँनु हुन्थ्यो, यो कुरा सहि हो । आफ्नो निर्धारित समय भन्दा बढी समय काम गर्दा ६०% ले समितिलाई र ४०% ले अपरेसन टिमलाई दिने नियम रहेको छ ।

त्यही समय अन्य ठाउँमा दिदाँ उहाँहरुले १० हजार को हाराहारीमा हुन्छ , यहाँ छैन । धेरै लियो भन्ने विषयलाई गलत व्याख्या गरेको जस्तो लाग्यो । डाक्टर बाहेक अन्य कर्मचारीहरुले कतिपय ठाउँमा लिएको पनि रहेछ । ECG गर्दा पनि बिरामीसँग लिने गरेको रहेछ । नेपाल सरकारले ल्याबमा काम गर्ने कर्मचारीहरु जसले रगत जाँच गर्ने गरेको छ उहाँहरु लाई २५% भत्ता दिने गरेको छ । त्यही काम गर्ने डाक्टर, नर्स र अन्य कर्मचारीलाई दिएको छैन । यही पनि विभेद गरेको देखिएको छ ।

समितिले केही प्रतिसत डाक्टरहरुलाई प्रोत्साहन होस् भनेर दिइन्छ । यो यहाँ मात्र नभएर हरेक अस्पतालमा यही नियम छ । पहिला भन्दा अहिले धेरै मात्रामा अपरेसन घटेको छ सायद यसको कारण पनि भत्ता नदिएको कारण नै हुन सक्छ । EHS नियम मार्फत हामीले अब थप काम गर्नेलाई भत्ता दिने नियम बनाएका छौँ । यो सबै भन्दा बढी लागु भएको भनेको थापाथली अस्पतालमा हो । त्यही मोडेलमा भक्तपुर अस्पतालमा पनि लागु गर्ने योजना बनाएका छौँ । कोही पनि बिरामी दर्ता गराए पछि रिफर गरेर अन्तजान नपरोस र आफ्नो समय भन्दा थप काम गर्ने वातावरण होस् भन्ने कोशिस हो । यो सेवा नगर्ने भन्दा गर्दा फाइदा हुन्छ । प्रदेश मन्त्रालयसँग बसेर व्यापक वहस गरेर यो निती ल्याएको हो । जुन अस्पतालमा ८ घण्टा काम हुन्छ भने त्यही अस्पतालमा १० घण्टा काम गराउने वातावरण मिलाउनु पर्छ । तुरुन्तै हामी यो योजना ल्याउदैछौँ ।

अस्पतालमा ICU सञ्चालन गर्ने योजना कहाँ पुगेको छ ?

चाडो ICU, NICU, EHS Service सुरु गर्ने छौँ । यो आइसके पछि रिफर गर्ने वातावरण पनि कम हुन्छ । अपरेसन गर्ने संख्या नि बढ्छ । एक दिनमा १५० जनासम्म Ultra Sound गर्नु पर्ने हुन्छ । एक जना डाक्टरले गर्न नसक्ने अबस्था छ । डाक्टरलाई अर्को दिन बोलाउनु पर्ने स्थिति छ । Laproscopy Service सुरु गर्ने सोचेको छौँ । भवनमा कति सम्मको ठाउँ हुन्छ त्यही अनुसार cardiologist   ल्याउने,psychiatrist  पनि ल्याउने, वार्डहरुलाई रिएरेन्ज गर्ने, कर्मचारीहरु ९ः३० मा आउनु पर्ने, हरेक दिन विहान सम्मेलन गर्ने, हप्तामा एकचोटी बैठक बस्ने, २४ घण्टा फार्मेसीलाई खुला राख्ने, CME गर्ने, हरेक हप्तामा एकेडेमिकल्ली राम्रो गर्नको लागि क्लास दिेने योजना बनाएका छौँ । Emergency मा २४ घण्टा डाक्टरहरुको उपस्थिति गराउने योजना बनाएको छौँ ।

डिजास्टर प्लान बनाएर त्यसमा पनि परामर्शदाताहरुलाई आपतकालिन अबस्थामा बोलाउने व्यबस्था गर्ने । योे ठाउँमा डिजासटर आउने भएकोले यसको प्रिपेरेसन गर्ने भुकम्प वा कुनै ठुलो एक्सिडेण्ट हुदाँ यसलाई हबको रुपमा विकास गरेर लैजाने, नगरपालिकालाई दिने waste segregation मा पनि काम गर्ने योजना रहेको छ । फोहोरमैलालाई पनि व्यवस्थापन गर्ने, थाइराइड, क्यान्सरको जाँचहरु भएको छैन त्यो पनि गराउने, ल्याबको क्वालिटिलाई अझै व्यवस्थित गरेर लैजाने, CSD (Centre Service Development) लन्डरी सुरु गर्ने, OCNC को ब्यबस्था गर्दैछौं । लैङ्गिक हिंसा बिरामीको उपचार गर्ने अलग ल्याब छ तर बिरामी आउनु भएको छैन । उहाँहरुको लागि होडिङ् बोर्ड राखेर, पत्रिकामा छापेर जानकारी गराउने, गार्डडेनिङ र पार्किङको व्यवस्थापन गर्ने, अगाडिको प्रवेश ढोका बाटै रिनेभेट गर्दै छौँ ,त्यहाँ एलेक्ट्रिक बोर्ड राख्ने योजना छ । अबको ६ महिनामा सबैले राम्रो व्यवस्थित देख्नुहुनेछ भन्ने लाग्छ ।

अन्त्यमा तपाईको सन्देश ?

मिडिया, नागरिक समाज, स्थानीय राजनैतिक दलर सरोकारवालाहरुबाट भक्तपुर अस्पताललाई नमुना अस्पताल बनाउनको लागि मैले सम्पुर्ण कर्मचारी सहित सबैको साथ र सहयोग अपेक्षा राखेको छु । सबै जनाको सहयोगका साथ अबको छ महिनामा भक्तपुर अस्पताल व्यवस्थित र सेवा सुबिधा सम्पन्न गराउने भरमग्दुर कोशिस गर्नेछु ।

प्रतिकृया