सडक सुरक्षाका लागि कन्भेक्स ऐन तथा संकेत चिन्ह सांसद बस्नेतद्धारा स्थापना
प्रकाशित मिति
२०७६ पुष १४ गते, सोमबार ०५:५३
भक्तपुर, सामुदायीक–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भक्तपुर जिल्ला प्रहरी कार्यालय, सूर्यविनायक नगरपालिका वडा नं. ४ तथा गाम्चा साकोसको संयुक्त आयोजनामा आइतबार सडक सुरक्षाका लागि कन्भेक्स ऐन तथा संकेत चिन्ह स्थापना गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा उक्त कार्यको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा सांसद बस्नेतले अरनिको राजमार्गमा ट्रफिक व्यवस्थापन ठूलो चुनौतिको रुपमा रहेको औल्याउँदै भक्तपुरमा सडक पूर्वाधारको विकास संगसँगै ट्राफिक व्यवस्थापनलाई प्रहरीले विशेष ध्यान दिइरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो । जिल्ला भरमा जम्मा १६ ठाउँमा कन्भेक्स ऐना राख्ने कार्य भएको जानकारी गराउँदै उहाँले अरनिको राजमार्गमा सोलार लाईट, अकाशे पुल, सर्भिस ट्र्याक निर्माणको प्रकृया व्यापक मात्रामा बढेसँगै ट्राफिक चुनौति पनि थप हुँदै गएको समेत उल्लेख गर्नुभयो ।

थिमीबाट तर्खाल हुँदै गाम्चा जाने सडक, मध्यपुर स्कुलबाट शंकर स्कुल तर्फ जाने सडक तथा पुल निर्माणको क्रममा रहेको जानकारी गराउँदै उहाँले विकाससँग सडक सुरक्षाका निम्ती विशेष योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ट्राफिकले कडाई गरेका कारणले मात्र सडक सुरक्षा हुन नसक्ने उल्लेख गर्दै सवारी चालकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
भित्री विस्तार भएका सडक तथा सहरहरुमा ट्रफिक व्यवस्थापन गर्नु अपरिहार्य रहेको बताउँदै उहाँले सडक सुरक्षा सम्बन्धी प्रस्तावना पत्र नै तयार पारेर प्रकृया अघि बढाईको बताउनुभयो । हनुमन्ते करिडोर सञ्चालनमा आए पछि ट्राफिक व्यवस्थापन गर्न अझै चुनौति वढ्ने भएकाले समयमा नै सचेत भई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले नयाँ पोष्ट राख्नु पर्ने ठाउँहरुमा प्रकृया अघि बढाई सुरक्षाको प्रत्याभुति हुने प्रकारको कार्य गर्न प्रहरीलाई आग्रह समेत गर्नुभयो ।
भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले ७० प्रतिशत सवारी दुर्घतना मानविय कारणले नै हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सवारी चालकलाई दोष दिने मात्र नभई क्षमता अभिवृद्धि गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उत्तम थापा, साकोसका अध्यक्ष विकास थापालगायतले शुभकामना मन्तव्य राख्नुभएका थियो ।




प्रतिकृया