• २ असोज २०८३, शुक्रबार
  • ६ः३८ बिहान

त्रिविमा धमाधम तीनमहिने नियुक्ति

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार ०८:०७

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि ऐनविपरीत विभिन्न विभाग र क्याम्पसमा तीनमहिने नियुक्ति गर्न थालेका छन् । उपकुलपति नियुक्त भएको दुई महिनाभित्रै उनले ६ भन्दा बढी पदमा नियुक्ति गरिसकेका छन् ।

National Life

बाँस्कोटाले पदाधिकारीदेखि विभिन्न नियुक्तिमा भागबन्डालाई निरन्तरता दिएका छन् । भागबन्डाकै आधारमा शुक्रबार प्राध्यापक डा। पेशल दाहाललाई रजिस्ट्रार नियुक्त गरिएको छ । उपकुलपति बाँस्कोटाको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई नियुक्त गरेका हुन् । उनले शुक्रबारै पदबहाली गरेका छन् । त्रिवि ऐनमा उपकुलपतिले रजिस्ट्रारका लागि सम्भावितहरूको नाम कुलपतिसमक्ष सिफारिस गर्ने र तीमध्ये एक जनालाई नियुक्ति दिने प्रावधान छ । बाँस्कोटाले रजिस्ट्रारका लागि दाहाल, व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र उच्चशिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिस गरेका थिए । बाँस्कोटाले पोखरास्थित वन विज्ञान क्याम्पसको प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डिनमा ताराप्रसाद भुसाललाई नियुक्त गरेका छन् । यी दुवै जनालाई तीनमहिने नियुक्ति दिइएको हो । उक्त नियुक्तिमा डिन कार्यालय र प्राध्यापकले असन्तुष्टि जनाउँदै आएका छन् ।

दुई विभाग र क्याम्पसमा पनि त्रिवि कार्यकारी परिषद्को निर्णयबिनै यस्तै नियुक्ति दिइसकिएको उपकुलपति कार्यालय निकट स्रोतले जनाएको छ । ललितकला विभागमा संगीता प्रधानलाई नियुक्ति दिइएको छ । वन विज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पसमा डेढ वर्षदेखि रिक्त पूर्णकालीन क्याम्पस प्रमुखको नियुक्तिलाई अड्काएर पुनः ३ महिने नियुक्ति गरिएकामा प्राध्यापक संघ–संगठनले विरोध जनाएका छन् । ‘प्रमुखविहीन रहेका केही आंगिक क्याम्पसमा पनि आफू निकटलाई ३ महिने नियुक्ति दिने गृहकार्य भइरहेको छ,’ उक्त स्रोतले भन्यो, ‘भागबन्डा अन्त्य हुने कुनै संकेत देखिएको छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वउपकुलपति तीर्थराज खनियाँले पनि अधिकांश नियुक्ति भागबन्डाकै आधारमा गरेका थिए । कार्यकालको अन्तिम समयमा खनियाँले धेरै व्यक्तिलाई तीन महिनाका लागि नियुक्त गरेका थिए । कात्तिक १७ मा उपकुलपति बनेलगत्तै बाँस्कोटाले नियुक्तिमा भागबन्डा अन्त्य गर्ने र गैरकानुनी नियुक्ति नगर्ने प्रतिबद्धता जनाएका थिए । उनी आफ्नो प्रतिबद्धतामा केही दिन पनि टिक्न नसकेको एक पदाधिकारीले बताए । बाँस्कोटा आफैं सत्तारूढ नेकपाभित्रको पूर्वएमाले खेमाबाट उपकुलपति बनेका हुन् । रजिस्ट्रार दाहाल पनि पूर्वएमाले निकट हुन् । यसअघि दुई पटकसम्म त्रिवि सेवा आयोगमा दाहाल तत्कालीन एमाले कोटामा सदस्य नियुक्त भएका थिए । बाँस्कोटा नियुक्त हुनुअघि उनी उपकुलपति बन्ने चर्चा पनि थियो तर छनोट कमिटीले उनको नाम सिफारिस गरेन ।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा त्रिविभित्र पदाधिकारीदेखि तल्लो तहसम्म नियुक्ति बाँड्न थालिएको एक पदाधिकारीले दाबी गरे । बाँस्कोटा राष्ट्रपति भण्डारीका निजी चिकित्सकसमेत हुन् । त्रिविका तत्कालीन रजिस्ट्रार डिल्लीराम उप्रेती र रेक्टर सुधा त्रिपाठीको कार्यकाल गत पुस ८ गते सकिएको थियो । उप्रेतीले रजिस्ट्रारमा दोहोरिने इच्छा राखेका थिए ।
कान्तिपुर दैनिकबाट साभार ।

प्रतिकृया