• २४ भदौ २०८३, बुधबार
  • ७ः३३ बेलुका

पीडितहरुले न न्याय पाए न सरकारबाट राहत नै

प्रकाशित मिति

२०७६ पुष ४ गते, शुक्रबार ०६:४०

काठमाडौँ, २०६६ फागुन २६ गते ,हरिहरपुर–२ कोप्सेराका आठ जना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए। बेलुका आठ बजेतिर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती आइपुग्यो। सेना आएको थाहा पाएपछि रत्नबहादुरसहित केही भागे। सेनाले १३ वर्षीया बालिका चन्द्रकला सुनारसहित ३५ वर्षीया देवीसरा र २८ वर्षीया अमृताको हत्या गर्‍यो। सँगै रहेका कृष्णबहादुर सुनारलाई पक्राउ गर्‍यो। घटना घटेको १० वर्ष भयो। अहिलेसम्म पीडितहरुले न न्याय पाएका छन्, न सरकारबाट राहत नै।

National Life

छोरी चन्द्रकला, पत्नी देवीसरा र भाउजु अमृता गुमाएका रत्नबहादुर न्यायको खोजीमा वीरेन्द्रनगर धाइरहेका छन्। पीडित परिवार तत्कालिन ज्वाला दल गणका उपसेनानी सुबोध कुँवरसहित १७ जनालाई कारवाही गर्न माग गर्दै विभिन्न निकाय धाइरहेका छन्। ‘घटना घटेको १० वर्ष हुन लाग्यो, अहिलेसम्म न्याय मिलेको छैन्,’ उनले भने, ‘जीवनभर साथ दिने पत्नी र फूलजस्ती छोरी अनि भाउजु गुमाउँदाको पीडा अहिलेसम्म कसैले पनि बुझिदिएनन्।

’ बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पीडितहरुले चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउन माग गरे। पीडित परिवारले अहिलेसम्म सरकारबाट किरिया खर्चवापत तीन लाख रुपैयाँ मात्रै पाएका छन्। रत्नबहादुरले वनमा काउलो काट्न गएर फर्कदा निकुञ्ज क्षेत्रमा पानी खान र काउलो सुकाउन मिल्ने ठाउँ भएकाले आफूहरु त्यहाँ बसेको बताउँछन्। ‘जंगलबाट काउलो र झाडु ल्याएर बजारमा विक्री गरेर वर्षौदेखि जिविकोपार्जन गर्दै आएका थियौं,’ उनले भने, ‘विना गल्ती आफन्त मार्नेलाई कारवाहीको माग गर्न थालेको १० वर्ष हुन लाग्यो, अहिलेसम्म न्याय पाएका छैनौं।’

Classic Tech Mobile
Classic Tech Desktop

घटनापछि गठित संसदीय समिति, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लगायतका संघ–संस्थाहरुले मारिएका महिलाहरु निर्दोष र निहत्था रहेको निश्कर्ष निकालेको थियो। सभासद् विनोद पहाडीको संयोजकत्वमा गठित १० सदस्यीय संसदीय छानबिन समितिले घटनाको अनुसन्धान गरेर प्रतिमृतक १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो। संसदीय समितिको निर्देशन पनि अहिलेसम्म राज्यले पालना गरेको छैन्। ‘हाम्रो नाममा आएको क्षतिपूर्ति अरु कसैले पो खाए कि रु’, सेनाको गोलीबाट आमा गुमाएकी शान्ति सुनारले भनिन्, ‘न राज्यले दिने भनेको क्षतिपूर्ति पाइयो, न दोषीमाथि कारबाही भयो।’ तत्कालिन समयमा नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जले मृतकका छोराछोरीलाई उच्च शिक्षासम्म पढाउने र जागिर लगाउने बाचा गरेको थियो। त्यो बाचा पनि पूरा नभएको पीडित परिवारहरु बताउँछन्।

‘मरेकाहरु फेरि फर्केर आउने होइनन्, भएकाको जीवन निर्वाहका लागि क्षतिपूर्ति र निहत्था मार्नेलाई कारवाही भइदिए पुग्थ्यो,’ शान्तिले भनिन्, ‘हाम्रो आवाज अहिलेसम्म सरोकारवालाहरुले सुनेनन्।’ पीडित परिवारहरुले २०६६ यताका सबै प्रधानमन्त्रीलाई भेटेपनि हत्यामा संलग्नहरुलाई कारवाही नगरिएको आरोप लगाएका छन्।
नागरिक दैनिकबाट साभार ।

प्रतिकृया