• २ असोज २०८३, शुक्रबार
  • ७ः०४ बेलुका

भारतीय फूलले बजार लिएपछि किसान मारमा

प्रकाशित मिति

२०७६ कार्तिक ११ गते, सोमबार १०:२१

काठमडौं , नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल राम्रोसँग आउन नपाउँदै भारतीय फूलले बजार लिएको छ  । तिहारलाई लक्ष्य गरी धान खेती नै छाडेर फूल उत्पादनमा लागेका किसान भारतीय फूलका कारण निराश छन्  । फ्लोरीकल्चर एसोसिएसन नेपालका अनुसार भारतीय फूल आयातमा रोक लगाउन माग गरे पनि सहज रूपमा फूल भित्रिएपछि समस्या भएको हो । एसोसिएसनका महासचिव विश्वमणि पोखरेलका अनुसार शुक्रबार साँझ मात्र करिब चार करोड २० लाखको ७ लाख भारतीय माला काठमाडौं भित्रिएको छ ।

National Life

‘नेपाली किसानले उत्पादन गरेको माला बजारमा आइसकेकै छैन,’ महासचिव पोखरेलले भने, ‘तर भारतीय माला रातारात आइपुगिसक्यो, कडाइ गर्न प्लान्ट क्वारेनटाइन, जिल्ला प्रशासन सबैतिर भने पनि कसैले चासो दिएनन् ।’ नेपालका २२ जिल्ला सयपत्री फूलका पकेट क्षेत्र हुन् । सबैभन्दा बढी सयपत्रीको उत्पादन चितवन, काठमाडौं र सिन्धुलीमा हुन्छ ।

‘यो वर्ष ७ देखि १० प्रतिशत माला कम हुने हो,’ उनले भने, ‘भारतबाट आउने माला ठप्प पारे अर्को वर्ष नेपालकै उत्पादनले बजार धान्न सकिने थियो ।’ उनका अनुसार फूल उत्पादनमा लागेका किसानले भारतीय फूलको डरका कारण कम उत्पादन गर्छन् । यो वर्ष २५ लाख मालाको माग छ । सबैभन्दा बढी १८ लाख सयपत्रीको छ । त्यस्तै ७ लाख मखमली र २० हजार गोदावरीको बजार माग छ । देशभर १ सय ५७ हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘किसानले धानको विकल्पका रूपमा फूल लगाए पनि बाहिरबाट आउने फूलले पहिल्यै बजार लिँदा घाटा हुने डरले कम लगाउन बाध्य छन्,’ उनले भने, ‘भारतीय फूलको आयात मात्र बन्द होस्, नेपाली फूलले बजार धान्ने काम हाम्रो भयो ।’ अहिले करिब साढे २ लाख माला अपुग छ । लक्ष्मी पूजा र भाइटीकाको दिन मालाको खपत बढी हुन्छ । ‘पहिला नेपाली माला बिक्री होस् भन्ने थियो,’ उनले भने, ‘त्यो हुन सकेन, सुरुमै भारतीय मालाले बजार लियो ।’ भारतबाट ल्याइएका माला बालाजु औद्योगिक क्षेत्रको कोल्ड स्टोरमा राखिएको छ । एसोसिएसनले शनिबार भारतीय फूल आयातको विरोधमा बालाजु क्षेत्रमा र्‍यालीसमेत निकालेको थियो ।

अहिले काठमाडौं उपत्यकाको मुख्य बजार, चोकमा फूल बिक्री गर्न ब्यापारीहरूबीच प्रतिस्पर्धा नै छ । सयपत्रीको धेरै माग नेपालमा र मखमलीको विदेशमा बढी छ । वार्षिक सयपत्रीको कारोबार ४३ करोडको हुन्छ । तिहारमा मात्र साढे १३ करोडको कारोबार हुन्छ । मखमलीको करिब ३ करोड हुने गरेको छ । महासचिव पोखरेलका अनुसार गत वर्ष २२ लाख माला बिक्री भएको थयो । कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया