टेलिकमको FTTH मा अब थप सुविधा
प्रकाशित मिति
२०७६ श्रावण ८ गते, बुधबार ०१:४१
काठमाडौँ, नेपाल टेलिकमको FTTHमा अब थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने भएको छ । FTTHमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (FTTH) सेवालाई साउन ५ गतेदेखि लागू हुने गरी थप व्यवस्थित गरेको हो।
नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिनेछ । नेपाल टेलिकमले उक्त अफर अन्तर्गत यो सेवा लिने ग्राहकहरुका लागि कम्पनीको नेटवर्क भित्र मात्र कल गर्न मिल्नेगरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो ।

मासिक रेन्टल वापत नेपाल टेलिकमको नेटवर्क भित्र २ सय ५० मिनेटसम्म निःशुल्क कल गर्न सकिनेछ भने अन्य कलको लागि ल्यान्डलाइन टेलिफोनसरह शुल्क लाग्ने टेलिकमले जनाएको छ ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन (PSTN) टेलिफोनमा जस्तै FTTH प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ ।
हालै समर अफर अन्तर्गत FTTH इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् ।
१५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
२५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ ।
४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ ।
यी सबै कम्बो प्याकेजमा उल्लेखित इन्टरनेट व्यान्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र एक वर्षको लागि क्रमशः २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेटसम्म नेपाल टेलिकमको नेटवर्क भित्र निःशुल्क कल गर्न सकिने सुबिधा उपलब्ध गराइएको छ ।




प्रतिकृया